
दीपेन्द्रप्रसाद सिंह
जनकपुरधाम
धनुषाको बटेश्वर गाउँपालिका वडा नं. १ स्थित लक्ष्मी माध्यमिक विद्यालयको कक्षा १० मा एक सय दश जना विद्यार्थी अध्ययनरत छन् । कक्षा १० सम्म पढाई हुने यस विद्यालयमा प्राथमिक विद्यालयका चार जना शिक्षकको दरवन्दी मात्रै छ । ति शिक्षक पनि प्राथमिक तहका हुन् । शिक्षक अभावमा प्राथमिक तहका शिक्षकहरुकै भरमा विद्यालय स्थापनाकालदेखि नै संचालन छन् । विद्यालयमा ६ सयभन्दा बढी विद्यार्थी अध्ययनरत रहेको विद्यालयमा शिक्षक मात्रै होइन कक्षाकोठाको समेत अभाव छ । कक्षाकोठा र शिक्षक र फर्निचर अभावले विद्यार्थीहरुलाई अध्ययन अध्यापनमा समस्या हुदै आएको कक्षा ९ की विद्यार्थी पुजा सिंहले बताइन् । डेस्क बेन्च अभावमा विद्यार्थीहरु कोचिएर बस्नुपर्ने बाध्यता रहेको उनले बताइन् ।
निम्न माध्यमिक र माध्यमिक तहमा दरवन्दी विना शैक्षिक क्रियाकलापन संचालन गर्नु निकै चुनौती रहेको विद्यालयका प्रधानाध्यापक श्याम सिंहले बताउँछन् । उनले भने, अभिभावकको आग्रहमा प्राथमिक शिक्षक र राहत शिक्षकहरुकै भरमा विद्यालय चलेको भएपनि स्थानिय जनप्रतिनिधी र पालिकाले चासो नदिएको उनले गुनासो गरे । उनले भने, विद्यालयमा शिक्षक अभाव छ, कक्षाकोठा अभाव छ, विद्यार्थीको चाप थेग्न नसक्ने अवस्था छ, तर पालिकाले स्वयसेवक शिक्षकका लागि समेत रकम दिन सकेको छैन् । विद्यालयको आन्तरिक आम्दानी र प्रशासनिक खर्चबाट निजी श्रोतमा गणित र विज्ञान विषयका शिक्षक भर्ना गरिएको उनले बताए । अग्रेजी विषयका शिक्षक अभावले गर्दा शिक्षण क्रियाकलाप नै प्रभावित हुन थालेको कक्षा १० मा विद्यार्थी दिपेन्द्र महतोले गुनासो गरे ।
तराईमा एउटा कक्षामा ५० जना विद्यार्थीसम्म राख्न पाउने शिक्षा नियमावलीमा उल्लेख छ तर शिक्षक अभाव र कक्षाकोठा अभावले गर्दा सेक्सन विभाजन गर्न नसकेको विद्यालयका प्राधानाध्यापक श्याम सिंहले बताए । अत्यधिक गर्मीको वेलामा एउटै डेष्क बेन्चमा ६ देखि ८ जनासम्म बसेर पढनुपर्ने हुन्छ । पसिनाले कपडा भिजेर पसिनै पसिना भई पढाउन सक्ने अवस्था हुदैन, शिक्षक कुशेश्वर महतोका अनुसार चिसो मौसमा अलि सहज भएपनि गर्मी मौसममा एउटै कक्षाकोठामा एक सय भन्दा बढी विद्यार्थीलाई पढाउन समस्या हुने गरेको बताए । उनले भने गर्मी सहन नसकेर विद्यार्थीहरु मुर्छा पर्ने, टाउको दुख्ने, ज्वरो लाग्ने, वान्ता हुनेलगायतको समस्या दैनिक आउने गरेको बताए ।
धनुषाको लक्ष्मीनियाँ गाउँपालिका वडा नम्बर ४ सपहीमा रहेको नारायणबाबा दलित जनजाति प्राथमिक विद्यालयका विद्यार्थी भौतिक संरचना अभावमा खुला भुँइमा बसेर पढ्न बाध्य छन् । २०६७ सालमा स्थापना भएको यो विद्यालयका लागि ४ कोठे पक्की भवनको जग त्यतिबेलै खनिएको थियो । तर, अहिलेसम्म २ वटा कोठाले मात्रै पूर्णता पाएको छ । यहाँका विद्यार्थी फर्निचर अभावाले धेरै बालबालिका भुँइमा बसेर पढ्न बाध्य छन् । विद्यालयमा ७० विद्यार्थीलाई एक राहत कोटाका महिला शिक्षक र दुई जना बालविकास कोटाका सहजकर्ताले पढाउँदै आएका छन् । गाउँभन्दा ५ सय मिटर पर खुला वातावरणमा विद्यालय स्थापना गरिएको भए पनि भौतिक संरचना नहुँदा निकै समस्या भएको प्रधानाध्यापक शशिप्रभा कर्ण बताउँछिन् ।
विद्यालयमा कक्षा ३ का विद्यार्थीका लागि गाउँबाट १० वटा बेन्च ल्याइएको छ । तर, बेन्च कहाँबाट कसरी ल्याइएको हो भन्नेबारेमा प्रधानाध्यापक कर्ण नै अनभिज्ञ छिन् । हावाले विद्यालयको जस्तापाता उडाइदिएको छ । स–साना विद्यार्थी खुला आकाशमुनि बाँसको टाँटीले बेरिएको कक्षाकोठामा पढ्न गर्छन् । गर्मी र वर्षातका बेला निकै कठिनाइ हुने शिक्षिका उषा साहले बताइन् । विद्यालयको नाम लेखिएको बोर्डसमेत हावाले उडाएर खसाएको छ । प्रधानाध्यापक कर्ण खुला स्थानमा रहेकाले सर्प र कीराको त्रास भइरहने बताउँछिन् । ‘साना बालबालिकालाई कीरा र सर्पलगायतबाट बचाउन निकै गाह्रो छ,’ उनले भनिन् ।
विद्यार्थीहरुको चापले भरि भराउ रहने गरेको संकटमोचन देवशरण रामरति माध्यमिक विद्यालयलाई सुचना प्रविधीमैत्री विद्यालय घोषणा गरिएपनि विद्यालयमा भने भौतिक पूर्वाधार र पढाउने शिक्षकको अभाव देखिएको छ । भौतिक पूर्वाधारको अभावले एउटै कक्षाकोठामा विद्यार्थीहरु अटाउने गरेको छैन । विद्यार्थीहरुको निकै चाप रहेकाले गर्दा शिक्षकहरुलाई कक्षाकोठामा उभेर पढाउने ठाउँको समेत अभाव हुने गरेको कम्प्युटर शिक्षक अखिलेश झाले जानकारी दिए । उनले भने एक सयदेखि लिएर १ सय ५० जना विद्यार्थीहरुलाई एउटै कक्षाकोठामा राखेर पढाउनुपर्ने बाध्यता रहेको छ ।
संकटमोचन देवशरण रामरति माध्यमिक विद्यालयका अनुसार बालविकासमा ३५ जना, कक्षा १ मा ६५ जना, कक्षा २ मा ११०, कक्षा ३ मा १४२ जना, कक्षा ४ मा २६० रहेकोमा सेक्सन ए र सेक्सन वी गरि दुई कक्षाकोठामा पढाई हुदै आएको छ । कक्षा ५ मा २८५, कक्षा ६ मा २५३, कक्षा ७ मा २७३, कक्षा ८ मा ३३७, कक्षा ९ मा ३४८ र कक्षा १० मा ३०५ सहित कक्षा ११ र १२ मा ४ सय विद्यार्थी अध्ययनरत रहेका छन । अहिले १८ वटा कक्षाकोठामा एक साथ पढाइ हुदै आएको छ तर विद्यालयमा भने विद्यार्थीको उपस्थिती अनुसार ५८ वटा कक्षाकोठा आवश्यक देखिन्छ भने कम्तीमा पनि १५ जना शिक्षक अझै आवश्यक रहेको विद्यालयका प्रध्यानाध्यापक बलिराम साहले बताएका छन ।
विद्यालयमा विद्यार्थीहरुको उपस्थितीले गर्दा एउटा डेष्क बेन्चमा ५ जनासम्म बस्नुपर्नेमा ८ जनासम्म विद्यार्थी बसाएर पढाउनुपर्ने बाध्यता रहेको छ । विद्यार्थीहरु निकै टासिएर बस्नुपर्ने भएकाले गर्दा विद्यालयमा कक्षा कोठामा भएको छात्रा बस्ने कक्षाकोठा र छात्र बस्ने कक्षाकोठा नै सेक्सन गरि छुटयाउनुपर्ने बाध्यता रहेको विद्यालयका प्रधानाध्यापक साहको भनाई रहको छ । कक्षाकोठामा विद्यार्थी अटाउन सक्दैनन् एउटै बेन्चमा आवश्यकभन्दा बढी विद्यार्थी बसाउनुपर्ने भएकाले गर्दा छात्र र छात्राहरुको छुट्टै कक्षाकोठा छुटयाउनुपर्ने बाध्यता रहेको उनले बताएका छन ।
लक्ष्मीनिया गाउँपालिका वडा नं. ३ स्थित दलित जनजाति आधारभुत विद्यालयमा फर्निचर अभावले विद्यार्थीहरु भुँइमै बसेर पढनुपर्ने बाध्यता छ । धनुषाको लक्ष्मीनियाँ गाउँपालिकामा १९ वटा सामुदायिक विद्यालय छन् । गाउँपालिकाका १९ विद्यालयमध्ये आठ वटामा मात्रै आवश्यक फर्निचर रहेको शिक्षा शाखाले बताए । अधिकांश विद्यालयमा डेस्क, बेन्चको अभावमा विद्यार्थी अध्ययन गर्न बाध्य छन् । विद्यालयमा कालोपाटी छैन, शौचालय पनि छैन । शौचालय नहुँदा शिक्षिकाहरुलाई नै अफ्ठ्यारो हुने गरेको छ । विद्यालयलाई सुरक्षित राख्न घेरावेराको अभाव छ । विद्यालयमा टिफिनको समयमा विद्यार्थीको रेखदेख गर्नुपर्ने अवस्था छ । तर शिक्षा सुधारका लागि स्थानिय जनप्रतिनिधी र पालिकाहरुको ध्यान जान सकेको छैन् ।
विद्यालयमा समेत भौतिक सामाग्री निमार्ण बाहेक अन्य शैक्षिक सुधारका गतिविधीमा जनप्रतिनिधीहरुको ध्यान जान नसकेकोे बटेश्वर गाउँपालिका समाजसेवी राजकिशोर महतोको भनाई छ । उनले भने विद्यालयमा प्रवेशद्धार, सरस्वती मंदिर र भवन बाहेकको शैक्षिक सुधारका काममा जनप्रतिनिधीहरुको भुमिका हुनपर्ने हो तर कमिसन कहाँबाट आउने खेलमै जनप्रतिनिधी र कर्मचारीहरु समेत लिप्त रहेको उनको गुनासो छ । बटेश्वर गाउँपालिकाका अध्यक्ष रामअशिष महतोले विद्यालयमा राजनितिकरण हुने गरेको छ, विद्यालयमा शिक्षकहरुले नियमित रुपमा कक्षाकोठामा सहभागि नहुने गरेकाले समेत समस्या भई रहेको बताए । उनले भने विद्यालयमा नियमित रुपमा संघिय बजेट र पालिकाबााट समेत सहयोग गरिदै आएको छ । विद्यालयहरुमा शिक्षक अभाव, भवन अभाव र फर्निचरलगायतको समस्या समाधान गर्न संघिय सरकार र प्रदेश सरकारको सहयोग आवश्यक रहेको बताए । पालिकामा केही विद्यालयमा पहिलो चरणमा पालिकाको आन्तरिक श्रोतबाट तलव दिने गरि स्वयमसेवक शिक्षक राखिएको बताए ।
लक्ष्मीनियाँ गाउँपालिकाका शिक्षा सुधारका लागि स्वयमसेवक शिक्षक र फर्निचरलगायतको सहयोग गर्दै आएको प्रमुख प्रशासकिय अधिकृत नागेन्द्र यादवले बताए । विद्यालयहरुमा समस्या छ, तर पालिकाले विस्तारै सक्दो सहयोग गर्दै लैजाने उनले बताए ।
अहिले शिक्षाको अधिकार स्थानिय तहलाई दिएको छ । शिक्षकको तलव, भत्ता समेत स्थानिय तहबाटै प्रदान गर्ने गरि माध्यमिक तहसम्मको अधिकार स्थानिय तहलाई दिएको छ तर पालिकाहरुमा शिक्षाका अधिकारी र कर्मचारीहरुको अभावले गर्दा समेत विद्यालयको अनुगमन हुन सकेको छैन् । जनप्रतिनिधीहरु निमार्णलगायतको भौतिक संरचनामा जोड र प्राथमिकतामा पर्ने गरेकोेले शिक्षा सुधारका मुलभुत कुराहरु ओझेलमा पर्ने गरेको जनकपुरधाम उपमहानगरपालिकाका शिक्षा तथा खेलकुद महाशाखा प्रमुख मेहिलाल यादवको बुझाई छ । उनले शिक्षा सुधारका लागि जनप्रतिनिधीहरुको सोचको विकास गर्न नसकेको बताए । उनले भने अहिले जनप्रतिनिधीहरुलाई आफ्नो वरिपरिका शिक्षकलाई कुन विद्यालयमा राख्ने र भवन निमार्णको काम बाहेक पठन पाठन क्रियाकलापमा ध्यान दिन सकेका छैनन् । संघीयता कार्यान्वयनपछि विद्यालय अनुगमन नहुँदा विद्यालय शिक्षामा रहेका बेथितीहरु कम हुन नसकेको बताए ।