धनुषा,०७९ माघ १६ गते । धनुषाको इलाका प्रहरी कार्यालय महेन्द्रनगरको थुनुवा कक्षको हिरासतमा रहेका ६ जना थुनुवा थुनुवा कक्षको पर्खाल फोडेर माघ १६ गते विहान फरार भएका छन् । थुनुवा कक्षको दक्षिणपट्टी तिरको पर्खाल फोडेर ६ जना थुनुवा फरार भएका छन् ।
थुनुवा कक्षमा ७ सात जन थुनुवा रहेकोमा एक जना मोटरसाइकल दुर्घटनाका थुनुवा नभागेको ईलाका प्रहरी कार्यालय महेन्द्रनगरका प्रहरी निरिक्षक बेचन यादवले बताउनुभयो । थुनुवाहरु थुनुवा कक्षमा भएकाले हत्तकडी नलगाएको र पुरानो भवन भएकाले इटा फुटाएर भागेको प्रहरी इन्स्पेक्टर यादवले इन्सेक धनुषा प्रतिनिधीलाई बताउनुभयो ।
थुनुवा कक्षको पर्खाल फोडेर फरार हुनेहरुमा हातहतियार तथा खरखजाना मुद्धाका आरोपित शंकर महतो, रोशन कुमार महतो, लागुऔषधका आरोपित विनोद कुमार शर्मा, अन्य मुद्धाका आरोपित अनिष मण्डल र रोशन यादव, अभद्र व्यवहारका आरोपित हरि घिसिङ रहेको जिल्ला प्रहरी कार्यालय धनुषाका प्रवक्ता प्रदिप बहादुर क्षेत्रीले जानकारी दिनुभयो । फरार भएको थुनुवाहरु विभिन्न मुद्दाका आरोपीहरु रहेका छन् ।
प्रहरीको थुनुवा कक्षको पर्खाल फोडेर थुनुवाहरु फरार भएको घटनाबारे अनुसन्धान भई रहेको जिल्ला प्रहरी कार्यालय धनुषाका एसपी विश्वराज खड्काले बताउनुभयो । पर्खाल फोडेर फरार भएकाहरुको प्रशिक्षण प्राप्त कुकुर परिचालन गरि खोजी कार्य तिव्र रुपमा भई रहेको प्रहरीले जनाएको छ ।

यो विषयमा आफ्नो प्रतिक्रिया दिनुहोस् !