धनुषामा धान उत्पादन घटयो

धनुषा,०७९ फागुन ११ गते । धनुषामा गत वर्षको तुलनामा यस वर्ष धान उत्पादनमा कमी देखिएको छ । अघिल्लो वर्षको तुलनामा चालु आर्थिक वर्षमा ९७ करोड १९ लाख ८९ हजार २ सय मूल्य बराबरको ३२ हजार ७ सय ६० मेट्रिक टन कम धान उत्पादन भएको छ ।

कृषि ज्ञान केन्द्र धनुषाका अनुसार चालु आर्थिक वर्ष साउन देखि पुससम्मको तथ्यांक हेर्दा किसानहरुले वर्षाधान ४८ हजार ७ सय ६० हेक्टर क्षेत्रफलमा व्यवसायिक रुपमा धान खेती गरेकोमा १ लाख ४६ हजार २ सय ८० मेट्रिक टन धान उत्पादन गरेका छन् । तर, त्यही किसानहरुले अघिल्लो वर्ष सोही अवधिमा ५५ हजार ८ सय ६ हेक्टर क्षेत्रफल धान खेती गरेकोमा १ लाख ७९ हजार मेट्रिक टन धान उत्पादन गर्न सफल भएका थिए ।

जुन यस वर्ष भन्दा ९७ करोड १९ लाख ८९ हजार २ सय रुपैयाँ भन्दा बढी अर्थात ३२ हजार ७ सय ६० मेट्रिक टन बढी धान उत्पादन भएको देखिन्छ । गत वर्ष यस वर्ष क्षेत्रफल घटाएर किसानहरु माछापालन सुरु गरेको,समयमा मलखाद नपाएको तथा सिँचाइको अभाव भएकोले यस वर्ष धनुषामा कम धान उत्पादन भएको बागवानी विकास अधिकृत प्रदीप कुमार यादवले बताए । जिल्लामा ७ लाख किसानहरु व्यवसायिक रुपमा धान खेती गरी आर्थिक लाभ लिँदै आएका छन् ।

जिल्लाको १८ पालिका मध्ये गणेशमान चारनाथ नगरपालिका,मिथिला नगरपालिका,वटेश्वर गाउँपालिका र क्षीरेश्वरनाथ नगरपालिका वाहेक १४ स्थानीय तहका किसानहरुले व्यवसायिक रुपमा धान उत्पादन गर्दै आएका छन् ।

धान खेती गर्ने किसानहरुलाई सरकारले ५० प्रतिशत अनुदानमा स्यालो, टयूबेल,पावर ट्रिलर लगायतका कृषि औजारहरु उपलब्ध गराउँदै आएको छ । कृषि विभागले धनुषा जिल्लामा डिजिटल सर्वे गर्दा धेरै ठाउँका किसानहरु आफ्नो जग्गामा माछा पोखरी खनेकाले धान खेती गर्ने क्षेत्रफलमा कमी आएको छ ।

धेरै पढिएको

ताजा समाचार