
धनुषा,०७९ चैत १० गते । “सरकार पहिनये निक छलै, अपने टुटली मरैयामे जे जेनातेना जिवन जितवै छली, अखन बहुत दुःख भँ रहल है” कारी मल्लिकको यो चित्कार सुनि रहँदा मन थामि नसक्नु भएको छ । कारण छ, मुखियापट्टी मुसहरनियाँ गाउँपालिका –३ स्थित ९ घरपरिवारको डोम वस्ती कहाली लाग्दो अवस्था देखिन्छ । मुख्य सडकसंगै टासिएको करिव १५ धुर जग्गामा ९ घरपरिवारका करिव ५० जनाको बसोवास रहेको डोम समुदाय शिक्षा,स्वास्थ्य,सरसफाईको साथै आर्थिक रुपमा निकै नै पछाडी परेका छन् ।
डोम समुदायको घर निमार्णको लागि प्रदेश सरकारको जनता आवास कार्यक्रमले ९ जनामध्ये घरविहिनकै अवस्थामा रहेका ७ परिवारको घर निमार्ण गर्ने योजना अलपत्र छ । ७ परिवारको पक्की घर निमार्ण गर्ने योजनाका साथ डोम समुदायको घर भत्काइएको छ । सोही जग्गामा पक्की घरको लागि इटाको जग खडा गरिएको छ । तर जग गाडेको करिव अढाई वर्ष विती सक्दा पनि योजनाले पूर्णता नपाउँदा डोम समुदायका व्यक्तिहरु थप समस्या र चुनौतीमा परेका छन् ।
दैनिक ज्याला, मजदुरी र बासँको सामाग्री सडकमै बनाएर जिविकोपार्जन गर्दै आएका डोम समुदायको अवस्था निकै दयनिय छ, अवस्था उकास्न प्रदेश सरकारले घर निमार्ण गर्ने योजना अलपत्र पर्दा उहाँहरुलाई थप पिडाबोध भएको छ । घर निमार्णको लागि जगसम्मको काम गरेर वर्षौसम्म अलपत्र छाडिएपछि सडकमा बसोवास गर्दै आएको डोम समुदाय अहिले आफैले माटो पुरेर मुखियापट्टी मुसहरनियाँ गाउँपालिकाका अध्यक्षले उपलब्ध गराएको बाँस र त्रिपालको सहारामा घामपानीको ओत लाग्न अस्थायी टहरा निमार्ण गरि गरेका छन् ।
जनता आवासले न त घर निमार्ण कार्यको पूर्णता दिन सकेको छ न त सम्झौता न रद्ध गरेका छन्, जसले गर्दा डोम समुदायको बन्ने घरको योजना अधुरा नै रहेकाले उनीहरुको सुरक्षा चुनौती समेत थपिएको छ । चर्को घाम, हावाहुरी, वर्षातको समय आउँदै गर्दा डोम समुदायको पिडा अझै ताजा हुने गरेको मन्जु मल्लिकले गुनासो गरिन् । उहाँले आउने वर्षातमा हामी कसरी यस्तो हालतमा बस्न सक्छौं, अहिलेदेखि नै चिन्ताले सताइ रहेको बताउनुभयो ।
डोम समुदायको आर्थिक अवस्था सुधारका लागि मुखियापट्टी मुसहरनियाँ गाउँपालिका अध्यक्ष जयकुमार यादवले ९ परिवारका एक एक जनालाई पालिकामा जागिर दिने ०७९ जेठ महिनामा दिएको आश्वासनमध्ये ७ जनाले ९ महिनादेखि पालिकामा सरसफाईको जागिर पाएका छन् । पालिकाले जागिर दिएपछि आफुहरुलाई निकै खुशी लागेको र आफुहरुलाई राहत महसुस भएको जोगेन्द्र मल्लिक डोमले बताउनुभयो ।
९ घरपरिवार डोम समुदायका व्यक्तिहरुलाई एक परिवार एक जनालाई पालिकामा जागिर दिने प्रतिवद्धता अनुसार सातजनालाई जागिर दिइ सकेको पालिका अध्यक्ष जय कुमार यादवले बताउनुभयो । दुई जनालाई समेत चाँडै प्रक्रिया पुरा गरेर जागिर दिने बताउनुभयो ।
जनता आवास कार्यक्रम अन्तर्गत डोम समुदायको घर तोडेर नयाँ घर बनाउन जग बसाएर अलपत्र हुँदा कष्टकर जीवन यापन गरी रहेकाले तत्कालै बास र त्रिपाललगायतको व्यवस्था गाउँपालिकाबाटै गरिएको उनले जानकारी दिए । डोम समुदायको जीवनस्तर उकास्नका लागि पालिकामा जागिर दिने र दलित समुदायको शिक्षा, स्वास्थ्यलगायतको सवालमा आमूल परिवर्तनका लागि पहल गर्ने बताए । दलित वस्तीहरु अव्यवस्थित भएकाले चाँडै भूमिहीनहरुलाई पालिकाको तर्फबाट जग्गा दिने र बसोवास क्षेत्रलाई व्यवस्थित गरिनुको साथै आधारभूत सेवा सुविधा उपलब्ध गराउने उल्लेख गरे ।
०७९ चैत ९ गते जनता आवास कार्यक्रमले अलपत्र पारेको डोम समुदायको अवस्था बुझन राष्ट्रिय मानवअधिकार आयोग, अनौपचारिक क्षेत्र सोव केन्द्र इन्सेक, फियान नेपाल, मुखियापट्टी मुसहरनियाँ गाउँपालिका अध्यक्ष जयकुमार यादवलगायत संचारकर्मीहरुको टोली सो वस्ती पुगेका थिए ।
गाउँपालिका अध्यक्षले जनता आवासले सम्झौता गरेकाले आफुले पालिकाको तर्फबाट लगानी गर्न नसकेको बताउनुभयो । जनता आवासले कि त डोम समुदायको घर निमार्ण गरि दिनुस नत्र सम्झौता खारेज गरे पालिकाको तर्फबाट प्रक्रिया पुरा गरेर उहाँहरुको अलपत्र घर बनाइ दिने अधिकारकर्मीहरुको टोलीलाई आश्वासन दिनुभएको छ ।