
काठमाण्डौ । सुनको भाउ महँगो हुन थालेपछि व्यवसायी भने चिन्तामा परेका छन् । भाउ बढेसँगै सुन किन्नेभन्दा पनि बेच्नेको संख्या बढेको भन्दै उनीहरु चिन्तित भएका हुन् ।
सुनको भाउले आइतबार पनि नयाँ रेकर्ड बनाएको छ । सुनको भाउ आइतबार अहिलेसम्मकै महँगो तोलाको ७५ हजार ५ सय रुपैयाँ पुगेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । सुन आइतबार एकैदिन तोलामा एक हजार रुपैयाँ बढेको हो । गएको शुक्रबार पनि सुनको भाउ तोलामा एक हजार रुपैयाँ नै बढेर तोलाको ७४ हजार ५ सय रुपैयाँ पुगेको थियो ।
अमेरिका र ईरानबीचको तनाव, डलर मजबुत र भारतीय रुपैयाँ कमजोर भएकाले नेपालमा सुनको भाउ बढेको महासङ्घको मूल्य निर्धारण समितिका संयोजक तेजरत्न शाक्यले बताए । उनका अनुसार अन्तर्रा्ष्ट्रिय बजारमा लगानीकर्ताको आकर्षण सुनमा बढेपछि भाउ महँगो भएको हो ।
सुनको भाउ तोलाको ८० हजारको हाराहारीमा पुग्ने देखिएको उनको भनाइ छ । दुई दिनमा मात्रै सुनको भाउ ३० डलरले बढेको छ भने नेपालमा दुई हजार रुपैयाँ महँगो भएको छ । सुनको भाउ बढे पनि चाँदीको भाउ भने घटबढ भएको छैन । चाँदी गएको शुक्रबार जस्तै आइतबार पनि तोलाको ९ सय रुपैयाँमा कारोबार भैरहेको छ ।