
धनुषा । ०७६ पुस २५ गते
मिथिला नपा–५ स्थित औरही खोलामा बालुवा गिट्टी उत्खन्न गर्दै गरेको टिपरले किचेर सोही वडाको श्रीपुर बस्ने २५ वर्षीय दिलिप भनिने ओमप्रकाश महतोको हत्या गरिएको पीडित परिवारको आरोप छ ।
औरही खोलामा अवैध तरिकाले उत्खनन भइरहेको भन्दै ओमप्रकाश महतोले विरोध गर्दै आएका थिए । पुस २५ गते बिहान ४ः०० बजे घरबाट छिमेकी साथी २३ वर्षीय रोशन यादवसँग मर्निङवाक गएको बेला घर नजिकैको खोलामा ना ७ ख ६४१३ नम्बरको टिपरले किचेर उनको हत्या गरिएको मृतकका सानीआमाको छोरा रमेशकुमार महतोले जानकारी दिनु भएको छ । महतो भारतको भुपालमा इन्जिनियरिङ अध्ययनरत थिए । महतो विदामा घर आएका थिए ।

घटनाबारे इलाका प्रहरी कार्यालय ढल्केवरका इस्पेक्टर रामकुमार यादवले प्रहरीको टोली घटनास्थल पुग्दा महतोको मृत्यु भइसकेको थियो । प्रहरीले घटनास्थलबाट शवको मुचुल्का गरि पोस्र्टमार्टमको लागि प्रादेशिक अस्पताल जनकपुरमा पठाएको छ । तर, पीडित परिवारले हत्या भएको भन्दै घटनाको अनुसन्धान हुन पर्ने माग गर्दै विरोध गरेका कारण शवको पोष्टमार्टम हुन सकेको छैन । टिपरलाई नियन्त्रणमा लिएर इलाका प्रहरी कार्यालय ढल्केवरमा राखिएको छ ।
प्रहरी इन्स्पेक्टर यादवका अनुसार खोला उत्खन्न गरिरहेकै स्थानमा टिपरले किचेर हत्या गरेको हुन सक्ने आशङ्का देखिएकोले घटनाको अनुसन्धान भइरहेको छ ।

घटनाको विरोधमा स्थानीय बासिन्दाहरूले मिथिला नपा–५ श्रीपुर स्थित पूर्वपश्चिम राजमार्गमा सडक अवरुद्ध गरेर विरोध प्रदर्शन गरेका छन् । अवरुद्ध सडक खुलाउने क्रममा प्रदर्शनकारीको ढुङ्गामूढाबाट जिल्ला प्रहरी कार्यालय धनुषाका एसपी रमेशकुमार वस्नेतको हातमा चोट लागेको छ । हाल अबरुद्ध सडक सूचारु गरिएको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ ।
दिपेन्द्रप्रसाद सिंह