
पुस २६, २०७६
६ वर्ष अघिसम्म अमलटारीका धनीराम थारुको जीवन फरक थियो । खेतीपाती गर्थे, आम्दानीको खासै स्रोत थिएन । खेती गर्नुबाहेकको समय त्यतिकै खेर जान्थ्यो । तर २०७० सालमा गाउमा होमस्टे सुरु भएपछि भने उनको जीवन बदलिएको छ ।
गाउँमा अरुको जस्तै उनको घरमा पनि होमस्टे राखियो । घरसँगै जोडिएर २ वटा कोठामा अहिले होमस्टे चलाउँछन थारु परिवार । सिजनमा उनको परिवारले मासिक ३० हजार रुपैयाँसम्म कमाउँछ । अरु समयमा पनि केही धेरथोर आम्दानी भएकै हुन्छ । पाहुनाका लागि चाहिने कुखुरा, हाँस आफैँ पालेका छन् । आफ्नै खेतको चामलले पाहुना र घरपरिवारलाई पुगेकै छ । धनीरामजस्तै होमस्टेबाट घरव्यवहार चलाउने अहिले नवलपुरको अमलटारीमा प्रशस्तै छन् । अर्थात् अमलटारी अहिले फेरिएको छ, होमस्टेले स्थानीयको जनजीवन सहज बनाइदिएको छ ।
जीवनशैली नै परिवर्तन गरिदियो
२०७० सालमा अमलटारीमा होमस्टे सुरुवात गर्ने श्रेय प्रेमशंकर मर्दनिया थारुलाई जान्छ । उनले नै अमलटारी मध्यवर्ती सामुदायिक होमस्टे समिति बनाएर ७० सालमा होमस्टे सुरु गरेका थिए । चितवन राष्ट्रिय निकुञ्ज छैवैमा रहेको यो गाउमा कुनै न कुनै रुपमा विकासका काम गर्न सकिन्छ भन्ने खोजीमा थिए उनी ।
२०६५ सालदेखि नै विभिन्न संघसस्था र वनजंगलसम्बन्धी कार्यक्रममा हिड्ने क्रममा उनले गण्डकी प्रदेशका पहाडी जिल्लामा चलिरहेको होमस्टेको बारेमा जानकारी पाए । यस बारेमा बुझ्न थाले, र ५ वर्षपछि गाउमा होमस्टे खोल्नुपर्छ भन्दै गाउँ-गाउँ बुझाउँदै हिडे । ‘अहिले गाउँका मानिसको जीवनशैली नै फरक भएको छ,’ उनी थप्छन् ‘आनीबानी, बोलीचाली र सरसफाईमा आकाश-जमिनको फरक पाएको छु ।’
पहिले फोहोर हुने ठाउँहरु अहिले चिटिक्क छन् । दैनिकजसो पाहुना आउन थालेपछि बोलीव्यवहार सुधार भएको छ । जीवनस्तरमा पनि सुधार भएको छ । ‘पहिले एउटा मोटरसाइकल र टेलिभिजन भएको घर पाउन गाह्रो हुन्थ्यो । अहिले सबै घरमा यो सुविधा छ,’ अध्यक्ष थारु भन्छन्, ‘म आफैलाई अचम्म लाग्छ, सुरुका मेरोविरुद्ध लाग्थे । गाउँ बिगार्न लाग्यो भन्थे । अहिले तिनै मान्छेहरु होमस्टे चलाइरहेका छन् ।’

मौलिक संस्कृति र परिकारको आकर्षण
अमलटारी होमस्टेका मुख्य आकर्षण्ख थारु जातिको संस्कृति र मौलिक परिकार नै हो । पाहुनाको इच्छाअनुसार थारु जातिको मौलिक परिकारहरु सबै हामेस्टेमा उपलब्ध हुन्छन् । घाेंघी र हा“सको छोयला अहिले पाहुनाको रोजाइमा पर्ने परिकार हुन् । माछाका विभिन्न परिकारमा रमाउन चाहनेको पनि कमी छैन ।
हरेक साँझमा साँस्कृतिक कार्यक्रमबाट थारु संस्कृतिको बारेमा पाहुनाले थप बुझ्न पाउँछन् । लाठी, झर्रा लगायतको थारु समुदायका नृत्यहरु आन्तरिक तथा बाह्य पर्यटकको रोजाइमा पर्छ । बोटे समुदायको बोट नाचले पनि पाहुनालाई मनोरञ्जन दिएकै हुन्छ । थारु समुदायको ९० किसिमका संस्कृति होमस्टेमा उपलब्ध रहेको अध्यक्ष थारुको दावी छ ।
प्राकृतिक आनन्द
होमस्टेमा अर्को आकर्षण बनेको पाटो प्राकृतिक आनन्द पनि हो । विश्वमा दुर्लभ एकसिंगे गैंडा होमस्टेनजिकै जंगल सफारीमा सजिलै देख्न पाइन्छ । चितवन राष्ट्रिय निकुञ्जनजिकै रहेकाले बाघ, हात्ती लगायतका वन्यजन्तु दृश्यावलोकन गर्न सकिन्छ ।
यसबाहेक नारायणी नदीमा डुंगा सयर, जंगलमा पैदल यात्रा, वयलगाडा र थारु सांस्कृतिक संग्रहालय पनि यहाको आकर्षणको केन्द्रमा छ । गण्डकी प्रदेश सरकारले हालै बाघ र चित्तलको मूर्तिहरु पनि निर्माण गरिदिएको छ ।
रोजगारी प्रर्वद्धन
२०७० सालमा २० घरबाट सुरु भएको होमस्टेमा अहिले ३१ घरमा सञ्चालित छन् । प्रत्येक घरमा होमस्टेका लागि २ वटा कोठा छुट्याइएका छन् भने प्रत्येक कोठामा २ जना बस्न मिल्नेगरी बनाइएको छ । प्रत्येक कोठामा ट्वाइलेट र बाथरुम अनिवार्य छ ।
यसका लागि समितिले मापदण्ड बनाएको छ । होमस्टेमा पुग्ने पाहुनालाई समेत समितिले समन्वय गर्छ । समिति अध्यक्ष थारु विभिन्न क्षेत्रमा रोजगारी सिर्जना भएको बताउँछन । ‘माछापालन, हा“सपालन व्यावसायिक रुपमा सुरु भएका छन् । १२ जना महिलाहरु हस्तकलासम्बन्धी उत्पादन गरिरहेका छन्,’ उनले भने ।
सर्वसुलभ मुल्य
अमलटारी होमस्टे थोरै रकममा रमाउन सकिने होमस्टे हो । २ जना सुत्न मिल्ने कोठाको दस्तुर ६ सय रुपैयाँ लाग्छ । खानामा पनि सहुलियत मूल्यमा उपलब्ध हुन्छ । मासुखानाको २ सय ५० र सादा खानाको १ सय २० रुपैयाँ तोकिएको छ । १ सय रुपैयाँमा बिहानको नास्ता उपलब्ध छ । यसबाहेक अन्य परिकारहरु अर्डरअनुसार पाउन सकिन्छ ।
कसरी जाने ?
अमलटारी पुग्न पुर्व-पश्चिम राजमार्गको बुटवल–नारायणगढ खण्डमा पर्ने डण्डा हुँदै जानुपर्छ । डण्डादेखि ६ किलोमिटर दक्षिणतर्फ कही पक्की त कही कच्ची सडकहरु बनेका छन । डण्डाबाट अमलटारीका लागि लोकल बस पनि पाइन्छ ।
दीर्घकालीन लक्ष्य
होमस्टे सुरु भएपछि कुनै समय पिछडिएको क्षेत्र मानिने अमलटारी अहिले कावासोती बजारकै तुलनामा पुगेको छ । स्थानीय समितिले दीर्घकालीन रुपमा यसलाई विकसित गर्न विभिन्न योजनासमेत बनाइरहेको छ । यसका लागि तीनवटा पिलरमा काम भइरहेको अध्यक्ष थारुले बताए ।
सामाजिक, आर्थिक र वातावरणीय पक्षलाई सँगै लैजाने समितिको उद्देश्य रहेको उनले जानकारी दिए । गाउँका २ सय १२ घरधुरीका कम्तीमा एक सदस्यलाई रोजगारी उपलब्ध गराउने समितिको लक्ष्य छ । गण्डकी प्रदेशको तराई क्षेत्र भएकाले प्रदेश सरकारले समेत महत्व दिएको छ ।