
दिपेन्द्रप्रसाद सिंह
धनुषा । ०७६ पुस २६ गते ।
धनुषाको मिथिला नपा–५ बस्ने २५ वर्षीय दिलिप भनिने ओमप्रकाश महतोलाई फलामको रडले प्रहार गरि हत्या गरेको प्रहरीले दावि गरेको छ । फलामले कोखामा हानेर कुटपिट गर्दै टिपरले किचेर हत्या गरेको आरोपमा जिल्ला प्रहरी कार्यालय धनुषाले ४ जनालाई गिरफतार गरि पुस २६ गते साँझ सार्वजानिक गरेको छ ।
अवैध तरिकाले खोला उत्खन्न गर्ने विरोध गरेका युवा ओमप्रकाश महतोको हत्या गरेको आरोपमा धनुषाको मिथिला नपा–५ बस्ने चुरियामाई बालुवा प्रशोधन उद्योगका संचालक २७ वर्षीय विपिन कुमार महतो, महोत्तरी जिल्लाको बर्दिवास नपा–९ बस्ने ३४ वर्षीय टिपर चालक मुनिन्द्र महतो, बर्दिवास नपा–२ बस्ने २४ बर्षीय अनटेस्ट लोडरका चालक जितेन्द्र कुमार महतो र मिथिला नपा–५ बस्ने २७ वर्षीय रोशन कुमार यादवलाई गिरफतार गरि सार्वजानिक गरेको हो ।
मिथिला नपा–५ स्थित औरही खोलामा अवैध तरिकाले चुरियामाई क्रसर प्रशोधन उद्योगले उत्खन्न गर्दै आएको थियो । ओमप्रकाश महतोले पटक पटक अवैध वालुवा उत्खन्न नगर्न भन्दै रोक्दै आउनुभएको थियो । अवैध उत्खन्न हुदै आएको खवर पाएर पुस २५ गते विहान ४ बजे छिमेकी साथी २४ वर्षीय रोशन कुमार यादवसंग औरही खोला गएको उहाँलाई फलामको ठण्डाले पेटको दाहिने कोखामा घोचेर कुटपिट गर्दै ना ७ ख ६४१३ नम्बरको टिपरले किचेर हत्या गरेको गिरफतार परेका आरोपितहरुले प्रहरीसमक्ष वयान दिएको जिल्ला प्रहरी कार्यालय धनुषाका एसपी रमेश कुमार बस्नेतले जानकारी दिनुभएको छ ।

‘कुटपिट गर्दै टिपरले किचेर हत्या गरिएका महतोको शवको पोस्टमार्टम पुस २६ गते जनकपुरस्थित प्रादेशिक अस्पतालमा ३ घण्टा लगाएर ४ जना चिकित्सकले पोस्टमार्टम गरेको छ । पुस २६ गते साँझ ७ बजेर १० मिनेटसम्म दिलीपको शवको पोस्टमार्टम गरिएको हो । पोस्टमार्टममा शवको एक्स–रे र सिटीस्क्यान समेत गरिएको छ ।
शवकोे पोस्टमार्टमपछि परिवारजनले शव बुझे लगतै जिल्ला प्रहरी कार्यालय धनुषाले घटनामा सलग्नहरुलाई पत्रकार सम्मेलनको आयोजना गरि सार्वजानिक गरेको हो ।