
माघ ५, २०७६
शुक्रबार निधन भएका विश्व कीर्तिमानी खगेन्द्र थापा मगरको शनिबार पोखरामा अन्त्येष्ठि गरिएको छ । मणिपाल शिक्षण अस्पतालदेखि सुरु भएको शवयात्रा नदीपुर, पालिखेचोक, महेन्द्रपुल, चिप्लेढुंगा, न्यूरोड, सभागृहचोक, पृथ्वीचोक, रंगशाला गेट, बुद्धचोक हुँदै रामघाटस्थित बौद्ध अर्घौ सदन पुगेको थियो ।
शवयात्राका सहभागीहरुले ‘खगेन्द्र सदा अमर रहनेछन्’, ‘खगेन्द्रलाई सधै सम्झिरहने छौँ’लगायत नारा लेखिएका प्लेकार्ड बोकेका थिए । उनको अन्तिम दाहसंस्कार बौद्ध अर्घौ सदनमा मगर संस्कारअनुसार गरिएको खगेन्द्र थापा मगर प्रतिष्ठानका अध्यक्ष मीनबहादुर रानाले बताए ।
शव यात्रामा प्रतिष्ठानका पदाधिकारी, गण्डकी प्रदेशका विभिन्न तहमा रहेका मन्त्रीहरु, खगेन्द्रका आफन्त तथा विभिन्न संघ संस्थाका प्रतिनिधि एवं सर्वसाधारणको सहभागिता थियो ।
खगेन्द्रको शुक्रबार दिउँसो निमोनियाका कारण पोखराको मणिपाल शिक्षण अस्पतालमा निधन भएको थियो । २८ वर्षीय खगेन्द्रको नाम विश्वकै होंचो मानिसको रुपमा गिनिज बुक अफ वल्र्ड रेकर्डसमा लेखिएको थियो ।