धनुषाका पत्रकारहरु कालोपट्टी बाँधेर काम गरे

धनुषा, ०७६ माघ ७ गते
धनुषाका कार्यरत पत्रकारहरुले गत २२ गते जनकपुरधाम उपमहानगरपालिकामा पत्रकारहरुमाथिको दुव्र्यवहार एवं कुटपिट घटना सम्बन्धमा भएको ९ बुँदे सहमति कार्यान्वयनको मांग गर्दै हातमा कालोपट्टी बाँधेर काम गर्न शुरु गरेको छ । जिल्ला प्रशासन कार्यालय धनुषाका प्रमुख जिल्ला अधिकरी प्रदीपराज कणेलको रोहबरमा घटनामा संलग्न व्यक्तिहरुलाई कारवाही हुने गरी सर्वपक्षीय बैठकबाट नेपाल पत्रकार महासंघ धनुषा र जनकपुरधाम उपमहानगरपालिकाबीच गत पुस २७ गते ९ बुँदे सहमति भएको थियो ।


सहमति भएको एक साता बितिसक्दा पनि प्रजिअ कणेलले सहमति कार्यान्वयन गराउन नसकेको भन्दै दबाव दिने उद्देश्यले नेपाल पत्रकार महासंघ धनुषा अन्तर्गत गठित संघर्ष समितिले आन्दोलनको घोषणा गरेको थियो । सो आन्दोलनको पहिलो चरणमा माघ ७ गतेदेखि १८ गतेसम्म विभिन्न संचार माध्यममा जिल्ला स्थित पत्रकारहरुले हातमा कालोपट्टी बाँधेर कार्यालय सहित फिल्डमा कार्य गर्ने निर्णय गरेको थियो ।आइतवार बसेको बैठकबाट संघर्ष समितिले मेयर साहकै प्रत्यक्ष निर्देशनमा भएको कुटपीट भएको ठहर गर्दै पुर्नगठित संघर्ष समितिको संयोजकमा नेपाल पत्रकार महासंघ प्रदेश नं. २ का महासचिव किरण कुमार कर्णलाई चयन गरिएको छ ।
आन्दोलनको अन्य कार्यक्रमहरुमा ८ गते महासंघ धनुषा शाखाका पदाधिकारी, पूर्व अध्यक्ष, पार्षद, केन्द्रिय तथा प्रादेशिक महासंघका प्रतिनिधि लगायतसंग घटना बारे छलफल, ११ गते सरोकारबालासंग, १३ गते राजनीतिक दलसंग र माघ १८ गते नागरिक समाज, युवा क्लव एवं विभिन्न संघ संगठन संग छलफल गर्ने कार्यक्रम रहेको संघर्ष समितिले जनाएको छ । गएको पुस २२ गते जनकपुरधाम उपमहानगरपालिका कार्यालयमा जानकी मन्दिरको फुलबारी अतिक्रमण विषयमा समाचारका लागि मेयर लालकिशोर साहसँग प्रतिक्रिया लिन पुगेका पत्रकारहरुमाथि उनकै कार्यकक्षमा दुव्र्यवहार तथा कुटपिट गरिएको थियो ।
सो घटनामा कान्तिपुर टिभीका पत्रकार अमरकान्त ठाकुर, उज्यालो नेटवर्कका पत्रकार सुभाष कर्ण, देश संचारका पत्रकार राजा झा, एबीसी टिभीका पत्रकार सुमित मिश्र सहितका पत्रकार घाइते भएको थियो भने पत्रकार मिश्रको क्यामेरा र मोबाइल समेत खोसिएको थियो । उता घटनालाई मोड्न जनकपुरधाम उपमानगरपालिकाले उल्टै पत्रकारहरुले चारजना महिलामाथि कुटपिट गरेको सुनियोजित आरोप लगाउँदै आन्दोलन सुरु गरेको थियो ।

धेरै पढिएको

ताजा समाचार