
धनुषा,०७६ माघ १३ गतेसाउदी अरबमा मृत्युदण्डको सजाय पाएका धनुषाका उमेश यादव गाउँ पुग्दा सिंगो गाउँ नै खुशीको आँशु थाम्न सकेनन् ।
झण्डै १४ वर्षपछि आफ्नो पैतृक गाउँ पुगेका उमेशलाई देखेर गाउँलेहरु सपना देखे झैँ देखिए । वैदेशिक रोजगारीको लागि साउदी गएपछि डेढ महिना नबित्दै पाकिस्तानी नागरिकको हत्या अभियोगमा जेल परेका उमेश नेपाल आउने कुरा सबैको लागि सपना जस्तै भइसकेको थियो ।
सपनामै सिमित बनेका उमेश घर आउँदा उनका परिवार र गाउँलेहरु खुशीले अंकमाल गर्दै आँशु रोक्न पाएनन् । साउदी अरबबाट मृत्यु जितेर घर फर्किएका उमेशलाई गाउँमा भव्य स्वागत गरिएको छ । गाउँ पुगेपछि उमेशले सपना जस्तै लागिरहेको भन्दै भक्कानिए । ‘गाउँ आउँछु भन्ने कुरा सपना जस्तै भइसकेको थियो, आशा मरिसकेको थियो, मलाई पुनर्जीवन दिनुहुने सबैलाई धन्यवाद’, उनले भने ।पाकिस्तानी नागरिकको हत्या गरेको भन्दै उनीविरुद्ध सन् २०१८ मे १५ मा साउदी अदालतले मृत्युदण्ड सुनाएको थियो । त्यसपछि परिवारले समेत उनलाई भेट्ने आशा मारिसकेका थिए ।

उमेश नेपाल आउने आशा मारिसकेका उनका परिवारबाट न्यूज ब्यूरोले यसबारे जानकारी पाएपछि सम्प्रेशन गरेको समाचार विस्तारै राष्ट्रिय स्तरमा मात्र नभई देश विदेशमा समेत चर्चाको विषय बन्न पुग्यो । उमेशको मुद्दा चर्चामा आएसँगै समाजिक अभियन्ता सरोज रायले थालेको पहलले अन्ततः रंग ल्याएको छ ।