
धनुषा, ०७६ माघ २० गते
धनुषाको औरही नपा २ बस्ने ३० वर्षीय अनिल पासवानले २४ वर्षीय श्रीमती चिन्ता कुमारी पासवानलाई माघ १८ गते निर्घात रुपमा कुटपिट गर्दै घाँटी थिची हत्या गरेको पिडित माइतपक्षको आरोप छ । सिरहा जिल्ला विष्णुपुर गापा ५ लक्ष्मीपुर माइत भएकी चिन्ताले माघ १८ गते साँझ ७ बजे वुवा दुखी पासवानलाई फोन गरेर आफुमाथि पति अनिल पासमान र सासु कुमला देवी पासवानलगायतले कुटपिट गर्दै आएकोले आफु माइत आउन चाहेको बताएकी थिइन् ।
छोरीलाई सम्झाउँदै आफु भोली घरमै लिन आउँछु भनेको थिए तर केही समयपछि उनको पतिले हत्या गरेको खवर पाएपछि आफुहरु राति १० बजे औरहीको देउरी परवाहा पुग्दा छोरीको शव प्रहरीले जनकपुर ल्याइसकेकोे पिडित वुवा दुखी पासवानले बताउनुभयो ।

चिन्ताको दुवै तिघ्रामा कालो निलो दाम परेको छ, गाला, गर्दनमा समेत कालो निलो दाम परेको छ । पछाडिबाट गर्दन थिचेर हत्या गरेको पिडित वुवा दुखी पासवानको आरोप छ । मृतक चिन्ताको एक वर्षका छोरा दिपेश पासवान रहेको छ । प्रहरीले शव जनकपुरस्थित प्रादेशिक अस्पताल जनकपुरमा पोस्र्टमार्टमको लागि राखेको छ । माघ २० गते विहान १० बजेसम्म शवको पोस्टमार्टम भएको छैन ।
प्रहरीले हत्या घटनामा सलग्न रहेको आरोपमा मृतकका सासु कुमला देवी पासवानलाई माघ १९ गते राति नै गिरफतार गरेको छ । हत्यामा सलग्न मुख्य दोषी देखिएका अनिल पासवान र उनका वुवा राधा पासवान फरार रहेका छन् । फरार भएकाहरुको खोजी कार्य भई रहेको जिल्ला प्रहरी कार्यालय धनुषाका डिएसपी रामेश्वर कार्कीले जानकारी दिनुभएको छ ।
दिपेन्द्रप्रसाद सिंह