
धनुषा, ०७६ माघ २७
जनकपुरधाम । गत बर्ष सम्पन्न गरिएका योजनाहरुको भुक्तानी गर्न प्रदेश २ का सांसदले प्रदेश सरकारलाई अल्टिमेटम दिने भएका छन् । यसअघि भुक्तानीको बिषयलाई लिएर प्रदेशसभा बैठक अवरुद्व गर्दै आएका सांसदले सरकारलाई अन्तिम अल्टिमेटम दिने तयारी गरेका हुन् ।
यसका निम्ति झण्डै तीन दर्जन सांसदहरुको बैठक आईतबार प्रदेशसभा भवनमा बसेको छ । प्रतिपक्षीका साथै सत्तासिन सांसदहरुको समेत सहभागिता रहेको बैठकले भुक्तानी नपाउँदा उपभोक्ताहरु दिनदिनै पीडित बन्दै गएको ठहर गरेका छन् ।
ऋण लिएर काम गरेका उपभोक्ताहरुले समयमा भुक्तानी नपाउँदा चर्काे व्याज तिर्नुपरेको जनाउँदै यसका निम्ति मुख्यमन्त्रीलाई ज्ञापन नै बुझाउने तयारी गरेका छन् । हामी भुक्तानीको बिषयलाई लिएर मुख्यमन्त्रीलाई ज्ञापन बुझाउन गइरहेका छौं’ राष्ट्रिय जनता पार्टी (राजपा) का सांसद विदेश्वर यादव ‘विक्की’ ले भने, “जनता पीडित भएपछि उनीहरुलाई साथ दिनु हाम्रो कर्तव्य हो ।” बैठकमा सहभागी नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का सांसद रामचन्द्र मण्डलले पनि भुक्तानी सन्दर्भमा मुख्यमन्त्रीसँग भेटेर कुरा गर्नेमा सांसदहरु एकमत भएको बताए ।
बैठकले मुख्यमन्त्रीलाई पाँच दिनभित्र भुक्तानी दिनुपर्ने भन्दै पाँच दिनको अल्टिमेटम दिने निर्णय गरेको छ । ज्ञापन बुझाएको पाँच दिनभित्र भुक्तानी नगरिए मुख्यमन्त्रीको कार्यालयमा तालाबन्दी गर्ने निर्णय उनीहरुले गरेका छन् । जनता पीडित बन्दै गएकाले हामीले पाँच दिने अल्टिमेटम दिने र त्यस मितिभित्र पनि भुक्तानी नदिइए मुख्यमन्त्रीको कार्यालयमा तालाबन्दी लगाउने बिषयमा छलफल भएको बैठकमा सहभागी सांसद विक्कीले बताए । प्रदेश २ मा गत आर्थिक बर्षमा सम्पन्न गरिएका योजनाहरुको झण्डै रु ८३ करोड अझै भुक्तानी हुन बाँकी छ । ८ सय ४२ वटा योजनाको भुक्तानी हुन सकेको छैन् । यो भुक्तानी सन्दर्भमा प्रदेशसभाको बैठकले सभामुख सरोज कुमार यादव नेतृत्वको उच्चस्तरीय संसदीय समिति गठन गरेर छानबिन गरिएको थियो ।
छानबिनपछि भुक्तानी दिन सरकारलाई निर्देशन दिँदा समेत भुक्तानी नभएपछि सांसदहरुले प्रदेशसभाको बैठक बस्न दिएका छैनन् । सांसदले प्रदेशसभा बैठक अवरुद्व गरिरहँदा काम गरेका उपभोक्ता समेतले प्रदर्शन गर्दै आएका छन् । गत आर्थिक बर्ष २०७५÷७६ मा संचालन गरिएका योजनाको भुक्तानी नगरिएको बिषय प्रदेश २ मा पेचिलो बन्दै गएको छ । काम गरिए वापतको भुक्तानी नदिँदा प्रदेश सरकारको आलोचना भइरहेको छ ।
यही बिषयलाई लिएर काम गरेका उपभोक्ताहरुले मुख्यमन्त्री तथा मन्त्रीहरुको तस्वीर भएको व्यानरमा जुत्ता प्रहार गर्ने काम समेत गरेका छन् । यो खबर आजको जनकपुरटुडे दैनिकले छापेको छ ।