प्रदेश २ मा उमेर नपुग्दै ९० प्रतिशतको विवाह हुदै गरेको तथ्याङ्क सार्वजानिक


दिपेन्द्रप्रसाद सिंह
धनुषा, ०७६ माघ २७ गते ।
प्रदेश २ मा ९० प्रतिशत महिलाको उमेर नपुग्दै बालविवाह हुनेको भयावह अवस्था रहेको तथ्याङ्क सार्वजानिक भएको छ । बालविवाह न्युनिकरणका लागि कार्यरत गैरसरकारी संस्था लाइफ नेपालले गरेको एक अध्ययनबाट प्रदेश २ मा ९० प्रतिशत महिलाहरुको २० वर्ष उमेर नपुग्दै विवाह हुदै आएको छ । तथ्याङ्कमा २० वर्ष नपुग्दै विवाह हुने महिलाले २० वर्षभित्रमै पहिलो सन्तानको आमा समेत हुदै आएको उल्लेख छ । अध्ययनले विवाहित महिलाले १८ वर्ष नपुग्दै १७ प्रतिशत महिला आमा बन्दै आएको तथ्याङ्कले देखाएको छ । प्रदेश २ मा १५ देखि १९ वर्षको उमेरमा बढी विवाह हुने गरेको अध्ययनले देखाएको छ ।
प्रदेश २ मा १० वर्ष माथिका करिव १३ लाख अविवाहित महिला र पुरुष रहेको छ जसमध्ये ७ लाख ५० हजार पुरुष र बाँकी महिला रहेको तथ्याङ्कले देखाएको छ । प्रदेश २ मा औसतमा महिलाहरु १८ वर्ष र पुरुषहरु २२ वर्ष ५ महिनासम्म अविवाहित रहने गरेको छ जुन राष्टिय औसतको उमेर भन्दा कम रहेको छ । दक्षिण एशियामा सवैभन्दा बढी वालविवाह हुने देश बंगलादेश र भारतपछि नेपाल तेस्रो देशको स्थानमा पर्ने गरेको छ । विश्वमा बालविवाह हुने देशमध्ये नेपाल १० औं स्थानमा पर्दछ ।
बालसंरक्षण निति तथा बालविवाहमुक्त पालिका घोषणा सम्बन्धी कार्यशालामा लाइफ नेपालका कार्यकारी निर्देशक सुरैत ठाकुरले धनुषामा ४९ प्रतिशत महिलाहरुको बालविवाह १५ देखि १९ वर्षको भित्रमा हुने गरेको बताउनुभएको छ ।

धनुषाको १० पालिकामा लाइफ नेपालले बालविवाहको अवस्थाबारे जानकारीको लागि सर्वे गरेका छन् । धनुषाको १० पालिकामध्ये जनकनन्दनी गाउँपालिकामा सवैभन्दा बढी ६५.१९ बालविवाह हुदै आएको सर्वेले देखाएको छ भने धनुषामा सवैभन्दा कम मिथिला नगरपालिकामा १५ प्रतिशत बालविवाह हुदै आएको उल्लेख गर्नुभएको छ । उहाँले धनुषामा दोश्रो बढी बालविवाह हुने पालिकामा शहिदनगर नगरपालिकामा ६३.३३ प्रतिशत, मिथिलाविहारी नगरपालिकामा ५७.१४ प्रतिशत, सवैला नगरपालिकामा ५२.६३ प्रतिशत, धनुषाधाम नगरपालिकामा ४७.३७ प्रतिशत, जनकपुरधाम उपमहानगरपालिकामा ४४.४४ प्रतिशत, क्षिरेश्वरनाथ नगरपालिकामा ३७.५० प्रतिशत र लक्ष्मीनियाँ गाउँपालिकामा ३२ प्रतिशत बालविवाह हुदै आएको लाइफ नेपालका कार्यकारी निर्देशक सुरैत ठाकुरले जानकारी दिनुभएको छ ।
कार्यक्रममा सवैला नगरपालिकाका मेयर विजयशंकर प्रसाद साहले बालविवाह रोक्नको लागि वडा सदस्य, वडा अध्यक्ष, कार्यपालिका सदस्यदेखि लिएर कर्मचारीहरुको टिम र राजनितिक दलहरुको सामुहिक प्रतिर्वद्धता नआएसम्म बालविवाह रोक्न चुनौती रहेको बताउनुभएको छ ।

धेरै पढिएको

ताजा समाचार