प्रचण्डले काँधमा भगवानको डोला बोकेर १५ दिने परिक्रमाको गरे शुभारम्भ


धनुषा, ०७६ फागुन ११ गते ।
दिपेन्द्रप्रसाद सिंह
मिथिलाञ्चलको सुप्रसिद्ध १५ दिने धार्मिक तथा सांस्कृतिक मिथिला माध्यमिकी परिक्रमाको शुभारम्भ नेकपा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले गरेका छन् । आइतवार धनुषाको कचुरीबाट सुरु भएको परिक्रमाको डोला काँधमा बोकेर नेकपा अध्यक्ष प्रचण्ड, पूर्वमन्त्रि रघुविर महासेठ, प्रतिनिधीसभा सांसद जुली महासेठ, प्रदेशसभा सदस्य रामचन्द्र मण्डललगायतका नेताहरु कचुरी मठबाट भगवान राम र सिताको डोलालाई काँधमा बोकेर विधिवत रुपमा शुभारम्भ गरेका हुन् ।
परापूर्वकालदेखि १५ दिने मिथिला माध्यमिकी धार्मिक पदयात्रामा हजारौको संख्यामा नेपाल र भारतका श्रद्धालुभत्तजनहरु सहभागि हुदै आएका छन् । नेपाल भारत दुवै मुलुकको धार्मिक, सांस्कृतिक एवं पारम्परिक सदभावको प्रतीकको रुपमा मिथिला माध्यमिकी परिक्रमाको सुरुवात कचुरीबाट सुरु हुने गरेको छ । प्राचीन मिथिलाको राजधानी जनकपुरधामको अग्निकुण्डबाट किशोरीजी अर्थात् माता जानकी र कचुरी मठबाट मिथिला विहारी भगवान रामचन्द्रको दुई प्रमुख डोलाको नेतृत्वमा मध्यमिथिला परिक्रमा विधिवत रुपमा सुरु भएको हो ।

फागुन औंसीका दिन अर्थात आज धनुषाको कचुरीबाट निस्कने मिथिला विहारीको डोला तथा जनकपुरको रत्नसागर र अग्निकुण्डबाट निस्कने किशोरीजीको डोला जानकी मन्दिर भएर जनकपुरको हनुमाननगर पुगेपछि माध्यमिकि परिक्रमाको विधिवत रुपमा सुरुवात हुने गर्दछ । आइतवार साँझ डोलासहितका यात्रीहरु जनकपुरधाम उपमहानगररपालिका १२ कुवाँस्थित हनुमाननगर मंदिरमा विश्राम गर्नेछ । सोमवार विहान भगवान राम र सिताको डोलासहितको परिक्रमावासिहरु पुजापाठ गरी भारतको विहार राज्यको कलणा पुगेर विश्राम गर्नेछ ।
परिक्रमामा सहभागीहरु क्रमशः फुलहरको गिरजास्थान हुँदै महोत्तरीको मटिहानी, जलेश्वर मडै ध्रुवकुण्ड, कन्चनवन, पर्वता, धनुषाधाम, औरही, विशौल हुँदै पुनः कलणा र फागुन पूर्णीमाको दिन जनकपुर फर्कने छ ।


जनकपुरधाममा भब्यताका साथ अन्तरगृह परिक्रमा गरिदै आएको छ । १५ दिने परिक्रमामा सहभागि हुन नसकेका श्रद्धालुभत्तजनहरु समेत अन्तरगृह परिक्रममा सहभागि हुने गर्दछ ।
परिक्रमामा सहभागिहरुको लागि बृहत्तर जनकपुर क्षेत्र विकास परिषद्ले पन्ध्रवटै विश्रामस्थलमा विजुली, खानेपानीलगायतको व्यवस्था मिलाएको जानकारी दिएको जानकी मंदिरका छोटे महन्थ रामरोशन दासले जानकारी दिएका छन् । विश्राम स्थलहरुमा नाचगान,झाँक्री, भजन किर्तनको व्यवस्था गरिदै आएको छ ।

धेरै पढिएको

ताजा समाचार