
धनुषा, ०७६ फागुन १५ गते
धनुषामा सर्वसाधारणबाट मोटो रकम असुली गर्दै सवारीसाधनको नक्कली लाइसेन्स बनाउँदै आएको आरोपमा एक महिलालाई प्रहरीले गिरफतार गरेको छ । जनकपुरधाम उपमहानगरपालिका वडा नं. ९ बस्ने करिव ३८ वर्षीय रुवि मिश्राले सेवाग्राहीसंग मोटो रकम लिएर नक्कली लाइसेन्स बनाउने गरेको रहस्य खुलेको छ । नक्कली लाइसेन्स बनाएर दिएको आरोपमा प्रहरीले मिश्रालाई धनुषा प्रहरीले मंगलवार गिरफतार गरि अनुसन्धान गरि रहेको छ ।
महोत्तरीको गौशाला नगरपालिका वडा नं.१२ बस्ने हरी नारायण भन्ने कृष्णदेव सिंह कुशवाहाले मिश्रामार्फत बनाएको लाइसेन्स नक्कली भएको प्रहरीले चेकजाँचको क्रममा फेला पारेपछि मिश्राको गोरखधन्धाको पर्दाफास भएको हो ।
रुवी मिश्राले छोरा चन्दन मिश्रमार्फत गाउँका सर्वसाधारणबाट रकम असुली गर्दै नक्कली लाइसेन्स बनाउने गरेको प्रहरीको अनुसन्धानले खुलेको छ ।
पक्राउ परेको मिश्राको बयानको आधारमा अनुसन्धान गर्दै जाँदा रुवी मिश्रले लाइसेन्स बनाइदिने नाममा गाउँका अन्य ४ जनासंग समेत ६० हजार रुपैयाँ भन्दा बढी उठाएको कुराहरु विभिन्न ठाउँबाट आएकोले उनलाई पक्राउ गरि कारवार्ही प्रक्रिया अगाडी बढाएको जिल्ला प्रहरी कार्यालय धनुषाका डिएसपी रामेश्वर कार्कीले बताए ।
रुवि मिश्रा विरुद्ध यसअघि समेत जिल्ला प्रहरी कार्यालय धनुषामा ठगि गरेको विषयमा अझै उजुरीहरु परेको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार रुवि मिश्राविरुद्ध प्रहरी ठगिलगायतका अन्य उजुरीहरु समेत आउने क्रम जारी रहेको छ ।