
काठमाण्डौ, ०७६ फागुन १९ गते
अख्तियार दुरुपयोग अनुसन्धान आयोग राष्ट्रसेवक कर्मचारीको तलबमान कम भएका कारण भ्रष्टाचार बढेको निश्कर्ष निकालेको छ । भ्रष्टाचार नियन्त्रणको प्रमुख नियमक निकाय रहेका अख्तियारले कर्मचारीको तलब कम भएको भन्दै कर्मचारीको तलब वृद्धि गर्न आयोगले सरकारलाई सुझाव दिएको छ ।
आयोगले आर्थिक वर्ष २०७५÷७६ को वार्षिक प्रतिवेदनका सम्बन्धमा छलफल गर्दै राष्ट्रसेवक कर्मचारीको तलबमान कम हुँदा भ्रष्टाचार नियन्त्रणमा कठिनाइ भएको बताएको हो । नेपाल सरकारलाई ८१ वटा सुझाव दिँदै आयोगले राष्ट्रसेवक कर्मचारीको तलबमानमा पुनरावलोकन गर्न सुझाव दिएको हो ।
महङ्गी र खर्चभन्दा आम्दानी कम भएको कारण राष्ट्रसेवक कर्मचारीले घुस रिसवत लिने गरेको भन्दै तलबमानमा वृद्धि गर्न सकिए भ्रष्टाचार नियन्त्रणमा सहयोग पुग्ने अख्तियारको दाबी छ ।