पत्रकार साहको हत्या आरोपी फौजदार १२ वर्षपछि पक्राउ


बारा,०७६ फागुन २५ गते
बारा प्रहरीले पत्रकार बिरेन्द्र साहको हत्या गरेको आरोपमा कुन्दन फौजदारलाई गएराति पक्राउ गरेको छ । हत्या गरि फरार रहेका फौजदारलाई १२ बर्षपछि पक्राउ गरेको हो ।
गोप्य सुचनाको आधारमा फौजदारलाई बाराको बारागढी गाँउपालिका ६ गडहलगाँउस्थित आफ्नै घरमा लुकिछिपी बस्दै आएका उनलाई जिल्ला प्रहरी कार्यालय बाराको टोलीले पक्राउ गरेको हो ।
पत्रकार साहको वि.सं. २०६४ साल कार्तिक १८ गते बाराको ढोडिया पिपरागाँउबाट अपहरण गरिएको थियो । अपहरण भएको एक महिनापछि पत्रकार साहको शव बरामद भएको थियो ।
साहसंगै मोटरसाईकलमा गएका उनका सहयोगी रामकुमार दासलाई कुटपिट गरी मोटरसाईकलसहित पिपरा नजिकैको जंगलमा हातमुख बाँधेर छोडेका थिए ।
बाराको पपिरा गाँउबाट करीव ६ किलोमिटर टाढा जंगलमा खाल्डो खनेर पुरिएको अवस्थामा पत्रकार साहको शव प्रहरीले बरामद गरेको थियो । साहको हत्यामा संलग्न रहेको आरोपमा माओबादी कार्यकर्ता हरेराम पटेल, लगायत दुुई जनालाई यस अघिनै प्रहरीले पक्राउ गरिसकेको छ ।
स्वर्गीय पत्रकार बिरेन्द्र साह तत्कालीन स्पेस नेटवर्कबाट सञ्चालित स्पेसटाईम दैनिक र तत्कालीन मनकामना एफएम हेटौंडाको सम्बाददाताको रुपमा काम गर्दै आएका थिए ।

धेरै पढिएको

ताजा समाचार