
दिपेन्द्रप्रसाद सिंह
धनुषा,०७६ चैत्र ११ गते ।
नेपाल सरकारले जारी गरेको लक डाउन तथा कफर्युको उल्लंघन गर्ने ८ मानिससहित ३ सय ६९ सवारी साधन धनुषा प्रहरीले नियन्त्रणमा लिएको छ । विश्वव्यापी फैलिदै गरेको कोरोना भाइरसको संक्रमणबाट बच्नका लागि देशभर नेपाल सरकारले चैत्र ११ गतेदेखि १८ गतेसम्म लक डाउनको घोषणा गरेको छ ।
जिल्ला प्रहरी कार्यालय धनुषाले लक डाउनको उल्लघंन गर्ने ८ जनासहित ४ वटा बस, ८५ वटा ट्रक, ७ वटा जिप नियन्त्रणमा लिएको छ । मंगलवारदेखि देशभर लक डाउन भएरपनि अटेरी गर्ने गर्ने २६१ मोटर साईकल, ११ वटा अटो रिक्सा र १ वटा ट्रयाक्टर नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय धनुषाका डिएसपी रामेश्वर कार्कीले जानकारी दिएका छन् ।
नियन्त्रणमा लिएको व्यक्ति र सवारी साधनलाइ चैत्र १८ गतेपछि जिल्ला प्रशासन कार्यालय धनुषाको निर्णय अनुसार कारवाही गरिने भएको छ ।