कोरोना भाइरसको शङ्का भएका व्यक्तिको परिचय गोप्य राख्नेलगायतका विषयमा निर्देशिका जारी

०७६ चैत १६ गते ।

प्रेस काउन्सिल नेपालले सञ्चारमाध्यम र सञ्चारकर्मीले कोभिड–१९ को सङ्क्रमण सम्बन्धमा समाचार सामग्री प्रकाशन, प्रसारण गर्दा आशङ्कित वा सङ्क्रमितको आशङ्का गरिएका वा सङ्क्रमितको व्यक्तिगत गोपनीयतामा ध्यान दिनुपर्ने व्यवस्थासहितको निर्देशिका जारी गरेको छ ।

कोरोना भाइरसको सङ्क्रमण सम्बन्धमा समाचार सामग्री प्रकाशन, प्रसारण गर्दा अपनाउनुपर्ने सावधानी र निर्वाह गर्नुपर्ने दायित्वका सम्बन्धमा कान्सिलले चैत १० गते नै उक्त निर्देशिका जारी गरेको हो ।

निर्देशिकाअनुसार कोरोना भाइरसको शङ्का भएका व्यक्तिको परिचय गोप्य राख्नुपर्ने छ । सङ्क्रमित व्यक्तिलाई नकारात्मक असर पार्नसक्ने सामग्री उत्पादन, प्रकाशन, प्रसारण र वितरण गर्नु नहुने पनि निर्देशिकामा उल्लेख छ ।

यसैगरी पत्रकार तथा सञ्चारमाध्यमले कोरोना सङ्क्रमणसम्बन्धी सत्य–तथ्य र आधिकारिक स्रोत वा विषय विज्ञबाट पुष्टि भएका समाचार सामग्रीमात्र सम्प्रेषण गर्नुपर्ने निर्देशिकामा जनाइएको छ ।

नौ बुँदे निर्देशिकामा पत्रकार तथा सञ्चारमाध्यमले सामाजिक सञ्जालमार्फत प्रवाह गर्ने कोरोना सङ्क्रमणसम्बन्धी समाचार, लेख, सूचना वा जानकारी मर्यादित, सत्य तथ्यपूर्ण र आधिकारिक हुनुपर्ने उल्लेख छ ।

साथै सामाजिक सञ्जालका अन्य प्रयोगकर्ताले प्रवाह गरेका कोरोना सङ्क्रमणसम्बन्धी समाचार, जानकारी वा लेख र प्रतिक्रियालाई शेयर, लाइक वा रिट्विट गरी पुनः प्रकाशन गर्दा पत्रकार तथा सञ्चारमाध्यमले आफूले प्रकाशन गरेसरह आधिकारिकता समेतको ख्याल गरी सम्प्रेषण गर्नुपर्ने निर्देशिकामा उल्लेख छ ।

प्रेस काउन्सिलले हालै मात्र नेपाल दूरसञ्चार प्राधिकरणसँगको समन्वयमा आचारसंहिता र निर्देशिका विपरीत कोरोना भाइरस सङ्क्रमणसम्बन्धी भ्रामक समाचार सम्प्रेषण गर्ने दर्ता नै नभएका करीब २५ ओटा वेबसाइटहरु बन्द गरिसकेको छ ।

यसबाहेक विभिन्न ३२ सञ्चारमाध्यमलाई आचारसंहिता विपरीतका समाचार सामग्री हटाउन लगाई २४ घण्टे स्पष्टीकरण सोधिएको काउन्सिलका कार्यवाहक अध्यक्ष किशोर श्रेष्ठले जानकारी दिनुभएको छ ।

धेरै पढिएको

ताजा समाचार