घरको छतमा जलासय बनाएर जनकपुरमा व्रतालुले मनाए छठ

धनुषा, ०७६ चैत १८ गते ।
जनकपुरसहित तराइमधेशमा चैती छठ श्रद्धाभक्तिपूर्वक मनाइएको छ । विश्वभर फैलिदै गरेको कोरोना भाइरसको संक्रमणलाई लिएर देशभर लकडाउन भएपछि व्रतालुहरुले घरको छतमा जलासय बनाएर छठ पर्व मनाएका छन् ।


मंगलवार उदाउँदो सूर्यलाई ठेकुवा, भुसवा, मिठाईलगायतको फलफूल, तरकारी, केरालगायतका समाग्रीलाई अर्घको रुपमा चढाउँदै छठ पर्व समापन गरिएको छ । सोमवार साँझ व्रतालुहरुले अस्ताउँदो सूर्यलाई अर्घ दिएको थियो ।


जिल्ला प्रहरी कार्यालय धनुषाले जनकपुर नगरक्षेत्र भित्र सार्वजानिक पोखरी, सरोवरमा छठ पर्व नमाउन पटक पटक गरेको अनुरोध र कडाइले गर्दा घरकै छतमा व्यवस्थित तरिकारले प्लाष्टिकमा पानी राखेर छठ पर्व मनाएको जनकपुरधाम १० बस्ने हरि साहले बताए ।


जनकपुरमा सार्वजानिक जलासयमा छठ मनाउन प्रहरीले रोके पनि ग्रामिण क्षेत्रमा भने सार्वजानिक पोखरी, तलाउ, नदि र इनारमै व्रतालुहरुले छठ पर्व मनाएका छन् ।


श्रद्धाभक्ति र विश्वासको पर्व छठ नमाउनु पनि नभएर आफुहरुले सुरक्षित तरिकाले घरमै बसेर फरक तरिकाले भिडभाड नगरि आफनै परिवारका सदस्यहरु बसेर छठ मनाएको सामाजिक अभियन्ता खुश्वु साहले बताइन् ।


छठ कार्तिक महिनामा समेत मनाउने गर्दछ । चैते छठभन्दा कार्तिक महिनामा बढी व्यक्तिहरुले छठ पर्व मनाउने गर्दछ ।

धेरै पढिएको

ताजा समाचार