
धनुषा, ०७६ चैत १८ गते ।
धनुषाको शहीदनगर नगरपालिकामा कोरोना भाइरस (कोभिड १९) को संक्रमण हुन सक्ने सम्भावित नगरवासीहरुका लागि ३० वेडको क्वारेन्टाइन तयारी गरेको छ । शहिदनगरपालिकाका नगरप्रमुख उदयकुमार बरवरिया यादवको विशेष सक्रियतामा यदुकुहास्थित जनता माध्यमिक विद्यालयमा क्वारेन्टाइनको रूपमा व्यवस्थापन गरिएको हो ।
भारतलगायत खाडी मुलकबाट नगरक्षेत्रमा ८२ जना आएकाले गर्दा उनीहरुलाई विशेष निगरानीमा राखेको नगरपालिकाले जनाएको छ । सहिद नगरपालिकाले चैत १० गतेपछि नगरमा आएको व्यक्तिहरुलाई क्वारेन्टाइनमा बस्नुपर्ने व्यवस्था गरेको छ ।
पछिल्लो एक हप्तामा बाहिरबाट आएका सबैलाई क्वारेन्टाइनमै बोलाएर प्रारम्भिक जाँच गर्ने र शंका लाग्नेलाई रेफर गर्ने तथा सामान्यलाई केही दिनसम्म निगरानीमा राखेपछि घर फर्काउने तयारी गरेको मेयर उदयकुमार बरवरियाले जानकारी दिनुभएको छ ।
कोरोना भाइरस संक्रमण नियन्त्रण तथा रोकथामका लागि खटिने स्वास्थ्यकर्मी र कर्मचारीहरुका लागि नगरपालिकाले विशेष प्याकेजको व्यवस्था गरि सकेको छ । उपचार खटने स्वास्थ्यकर्मीलाई नगरपालिकाले दैनिक भत्ता, विमा र उपचार खर्चलगायतको विशेष प्याकेजको घोषणा गरि सकेको नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत नन्द कुमार झाले जानकारी बताउनुभयो ।