
धनुषा, ०७६ चैत ३० गते ।
जनकपुर उद्योग बाणिज्य संघका अध्यक्ष ललित साहले जनकपुरमा विना मास्क मोटरसाइकलमा हिडेको विषयमा विवाद हुँदा असइको मोवाइल फुटेको छ । आईतबार बिहान लकडाउनमा महावीरचोकमा मोटरसाइकलमा मास्क नै नलगाई जाँदै गरेका अध्यक्ष साह र ड्युटीमा रहेका असई विद्यापति ठाकुर बिच विवाद भएको थियो ।
असई ठाकुरले अध्यक्ष साहलाई रोकेर मास्क बिना नहिंडन आग्रह गर्दा आफुमाथि दुव्र्यवहार गरेको असई ठाकुरले आरोप लगाएका छन् । मोटरसाइकलमा ‘मास्क नलगाएर जाँदै गरेको देखेपछि असई ठाकुरले साहलाई रोकेर सर मास्क किन लगाउनुभएको प्रश्न गरेका थिए, यस्तो महामारीको अवस्थामा मास्क लगाउनु नितान्त आवश्यक छ नि ? भनेर आग्रह गर्दा अध्यक्ष साहले मास्क घरमै बिर्सेर आएको बताउँदै गैरजिम्मेवारपूर्ण जवाफ फर्काएको असई ठाकुरले बताए ।
जनकपुर उद्योग वाणिज्य संघका अध्यक्ष साहको गाडीको बिलबुक र सवारी चालक अनुमतिपत्र देखाउन आग्रह गर्दै मोटरसाइकलको साँचोे असई ठाकुरले खोसेका थिए । मोटरसाइकलको साँचो खोेसेपछि आक्रोशित भएका अध्यक्ष साह स्थनीय दर्जनौं व्यपारीलाई बोलाएर आफुमाथि हातपात प्रयास गर्दै अश्लिल गालीगलौज गर्दै धक्कामुक्की गरेको आरोप लगाएका छन् । सोही क्रममा असई ठाकुरको मोबाइल खसेर फुटेको छ ।
घटनापछि जिल्ला प्रहरी कार्यालय धनुषाबाट आएका प्रहरी टोलीले छलफलका लागि जिल्ला प्रहरी कार्यालय धनुषामा असई र अध्यक्षलाई बोलाएका थिए । जिल्ला प्रहरी कार्यालय धनुषाका डिएसपी रामेश्वर कार्कीका अनुसार अध्यक्ष साह कुनै कामले बाहिर विना मास्क लगाएर जाँदै गर्दा डियुटीमा रहेका असई ठाकुरले मास्क लगाउन आग्रह गर्दै मोटरसाइकलको साँचो लिएपछि भएको विवादको क्रममा फुटेको असईको मोवाइलको क्षतिपूर्ति अध्यक्ष साहले तिर्ने सहमति भएको बताए ।
मोवाइल मर्मत सम्भार भएको खण्डमा मर्मत खर्च नभएको नयाँ मोवाइल किने दिने सहमति भएको डिएसपी कार्कीले बताए ।