
धनुषा, ०७६ चैत ३० गते ।
जनकपुरधाम उमनपा –८ स्थित जानकी आँखा अस्पताल अगाडि प्रहरी हवल्दार ३५ वर्षीय लालवावु साहलाई सोही वडाको वलवा टोल बस्ने २८ वर्षीय अमित कुमार सिंह र २३ वर्षीय सुमित कुमार सिंहले कुटपिट गरेको छ ।
विश्व व्यापी रुपमा फैलिदै गरेको कोरोना भाइरस कोभिड –१९ लाई लक्षित गरि नेपाल सरकारले जारी गरेको लक डाउन उल्लघंन हुने गरि एकै ठाँउमा दर्जनौंको संख्यामा भेला भएका युवाहरुलाई सम्झाउने क्रममा वलवा टोल प्रहरी चौकीमा कार्यरत प्रहरी हवल्दार साहमाथि दुई दाजुभाई मिलेर कुटपिट गरेका हुन् । घाइते प्रहरी हवल्दारको प्रादेशिक अस्पताल जनकपुरमा उपचार भई रहेको छ ।
लकडाउन पालना गर्न सम्झाउन जाँदा प्रहरी हवल्दार साहमाथि कुटपिट भएको जिल्ला प्रहरी कार्यालय धनुषाका प्रहरी नायव उपरिक्षक रामेश्वर कार्कीले जानकारी दिनुभएको छ । प्रहरीमाथि हातपात गर्ने ती दुवै जनालाई गिरफतार गरि जिल्ला प्रहरी कार्यालय धनुषामा राखिएको छ । पक्राउ परेका दुबै युवक दाजुभाई रहेको प्रहरीले जनाएको छ ।