कोरोना भाइरस संक्रमितको संख्या २०८ पुग्यो, प्रदेश २ को बारा र पर्सामा निषेधज्ञा जारी

धनुषा, ०७७ बैशाख ३० गते ।
नेपालमा कोरोना भाइरस संक्रमितहरुको संख्या एकाएक बढ्दै बैशाख ३० गतेसम्म २०८ जना संक्रमित देखिएको छ । प्रदेश २ मै ३९ जना संक्रमित देखा परेपछि बारा र पर्सामा निषेधज्ञा जारी गरिएको छ ।

बारामा जिल्ला प्रशासन कार्यालयले विज्ञप्ति जारी गर्दै घरबाहिर आवत जावत नगर्न आदेश जारी गरेको छ । यता, वीरगञ्ज महानगरपालिकामा समेत निषेधाज्ञा जारी गरिएको छ । जोखिम बढेकाले अर्को सूचना नआएसम्मका लागि निषेधाज्ञा जारी गरिएको पर्साका प्रमुख जिल्ला अधिकारी विष्णुप्रसाद कार्कीले जानकारी दिनुभएको छ ।


कोरोना संक्रमण थप फैलिन नदिनका लागि स्थानीय प्रशासनले कडा कदम चालेको छ । जिल्ला प्रशासन कार्यालय पर्साले मंगलबार कोरोना संक्रमण रोकथाम तथा नियन्त्रण र जिल्लामा शान्ति सुव्यवस्था कायम गर्न नेपाल प्रहरी र सशस्त्र प्रहरीका अतिरिक्त सेना समेत परिचालन गर्ने निर्णय गरेको हो । पर्सामा मंगलबार मात्र दुईजना पत्रकारसहित ३९ जनामा कोरोना संक्रमण फेला परेको छ । पर्सामा हालसम्म संक्रमित संख्या ६४ पुगेको छ ।


प्रदेश २ स्थित बारा र पर्सामा कोरोना संक्रमितको संख्यामा वृद्धि भएसँगै जिल्ला प्रशासन कार्यालय बाराले निषेधाज्ञा जारी गरेको छ । क्राइसिस मेनेजमेन्ट सेन्टरको मंगलबार बसेको बैठकले कोरोना रोकथाम तथा नियन्त्रणका लागि वैशाख २५ गते जारी भएको निषेधाज्ञालाई थप प्रभावकारी बनाउँदै निषेधाज्ञा जारी गर्ने निर्णय गरेको हो ।


पर्साको वीरगञ्जबाट कार्यालयको काम तथा अन्य प्रयोजनका लागि बारा आवतजावत हुने (अत्यावश्यक स्वास्थ्य सेवा, विद्युत, सञ्चार, खानेपानी, बैंक, खाद्यान्न, दूध, पानी, ग्यास, तेल, तरकारी, औषधि, एम्बुलेन्स) बाहेक अन्य सवारी साधनहरुलाई पूर्ण रुपमा बन्देज लगाउने निर्णय गरेको छ ।

संक्रमणको जोखिमलाई मध्यनजर राख्दै स्थानीय प्रशासनबाट जारी भएका सिकिस्त बिरामी प्रयोजन बाहेकका हस्तलिखित तथा ई–पास समेत भोलिदेखि खारेज गर्ने निर्णय गरेको छ ।
भारतसँग सीमा नाका जोडिएका ठाउँहरुबाट आवात जावतमा पूर्ण रुपमा बन्द गर्ने निर्णय गरेको छ भने अत्यावश्यक काम बाहेक अन्य कामका लागि कसैलाई पनि घरबाट बाहिर ननिस्कन आग्रह गरेको छ ।

धेरै पढिएको

ताजा समाचार