सिमा क्षेत्रमा रहेका नेपालीहरुलाई जटही नाकाबाट ल्याउने निर्णय


धनुषा, ०७७ जेठ २ गते ।
भारतमा विभिन्न कामको सिलसिलामा गएर सिमानाकामा आएर अडकिएर लुकिछिपी सिमानाकाबाट जथाभावी रुपमा छिर्न थालेपछि धनुषावासीलाई प्रशासनले ल्याउने निर्णय गरेको हो । जिल्ला प्रशासन कार्यालय धनुषामा जिल्ला विपद व्यवस्थपन समितिको जेठ २ गते बसेको बैठकबाट नेपाल भारतको बोर्डरमा आएर रोकिएका धनुषावासीलाई ल्याउने निर्णय भएको छ ।


धनुषाका सहायक प्रमुख जिल्ला अधिकारी एवम् क्वारेन्टाइन व्यवस्थापन समितिका संयोजक शरद कुमार पोखरेलले सीमा क्षेत्रमा आएर अलपत्र अवस्थामा रहेका धनुषावासीलाई सम्बन्धित पालिकामा पठाउने गरि बसबाट जटही नाकाबाट ल्याउने निर्णय गरिएको बताउनुभएको छ ।


नेपाल भारत बोर्डरमा धनुषाको सीमा पर्ने ४९ किलोमिटरको क्षेत्रमा बीचको नाका पर्ने जटही नाकाबाट मात्र धनुषाका बासिन्दाहरु आउन सक्ने जनाइएको छ । जेठ ३ गतेदेखि नै सिमा क्षेत्रमा रहेका धनुषाबासिलाई ल्याउने गृहकार्य थाल्ने जनाउँदै सहायक सिडियो पोखरेलले जटही नाकामा क्वारेन्टाइन निर्माणको कार्य पनि जेठ ३ गतेदेखि सुचारु हुने बताउनुभएको छ ।


सम्बन्धित पालिकाहरुले आ–आफ्नो नगरभित्रको फसेका व्यक्तिहरुको तथ्याक सकलन गरी बुझाएपछि ल्याउने कार्य सुरु हुने जानकारी दिनुभएको छ । जटही नाकामै कोरोनाको हेल्प डेस्क राखेर चेकजाँच गरि सामान्य व्यक्तिलाई गाडीमा राखेर सम्बन्धित नगरपालिका, गाउँपालिकामा पठाउने तथा संक्रमित भएको पाइएमा स्बाब संकलनको लागि प्रादेशिक अस्पताल जनकपुरमा पठाउने निर्णय गरिएको हो ।

चेकजाँचको क्रममा सामान्य अवस्था भएकालाई नगरपालिका, गाउँपालिकाको क्वारेन्टाइनमा पठाइने छ । धनुषा प्रशासनको समन्वयमा विहान १० बजे र साँझ ६ बजे गरी दुई पटक बस संचालन गरी सिमाक्षेत्रबाट धनुषाबासिलाई सम्बन्धित पालिकामा पठाइने छ ।

त्यसको लागि सम्बन्धित नगरपालिकाको सम्पर्क व्यक्ति र क्वारेन्टाइनको सम्पर्क व्यक्तिसँग समन्वय गरी सम्बन्धित पालिकाले आफ्ना नगरभित्रका नागरिकलाई सकुशल र उत्तम व्यवस्थापा गर्नुपर्ने निर्णय समेत गरिएको बताउनुभयो ।

धेरै पढिएको

ताजा समाचार