जनकपुर, ०७७ जेठ ४ गते ।
प्रदेश २ मा जेठ ३ गते ६ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।
जसअनुरुप सिरहा जिल्ला सखुवानन्कारकट्टी गाउँपालिकाका ३० वर्षीय पुरुष, पर्साको बीरगञ्ज महानगरपालिकाका–१२ का २८ र २९ वर्षीय पुरुष, सर्लाही जिल्ला रामनगर गाउँपालिका–४ का १८ वर्षीया महिला र धनुषा जिल्लाका २० र ६५ वर्षीय पुरुषमा कोरोना सङ्क्रमण पुष्टि भएको हो ।
प्रदेश २ मा जेठ ३ गतेसम्म कोरोना भाइरसका शङ्कास्पद ५ हजार २ सय ३१ जनाको स्वाब सङ्कलन गरिएको छ । जसमा ३ हजार ६ सय ८८ जनाको रिपोर्ट नेगेटिभ आएको छ भने १ सय ७ जनाको रिपोर्ट पोजेटिभ आएको सामाजिक विकास मन्त्रालय स्वास्थ्य महाशाखाका प्रमुख डा. नवल किशोर झाले बताउनु भयो ।
१ हजार ४ सय ३६ जनाको रिपोर्ट आउन बाँकी रहेको छ । त्यसैगरी, जेठ ३ गतेसम्म आरडीटी किटबाट परीक्षण ५ हजार ५ सय ३० जनाको गरिएकोमा ५ हजार ५ सय २० जनाको रिपोर्ट नेगेटिभ आएको छ भने १० जनाको रिपोर्ट पोजेटिभ आएको छ ।
प्रदेशमा विभिन्न जिल्लामा निर्माण गरिएको ४ हजार ५ सय ७६ बेड क्षमताको १ सय ८३ ओटा क्वारेण्टाइनमा २ हजार ३ सय ८२ जना व्यक्तिलाई राखिएको डा. झाले बताउनु भयो ।
उहाँका अनुसार प्रदेश भरिमा हालसम्म ४ हजार ७ सय ६८ जना व्यक्तिहरू होम क्वारेण्टाइनमा रहेका छन् भने ३ सय ९८ बेड क्षमताको आइसोलेशनमा १ सय ६ जना उपचारार्थ छन् ।
यो विषयमा आफ्नो प्रतिक्रिया दिनुहोस् !