
धनुषा, ०७७ जेठ १२ गते ।
आइतवार साँझ तराइमधेशमा आएको ठुलो आधीवेरीमा धनुषाको उत्तरवर्ती क्षेत्रमा करोडौंको क्षति भएको छ । कोरोना भाइरसको कहरले लकडाउनको अवस्थामा किसानको खेतवारी र बगैंचामा फलेको आँप हावाहुरीले ८० प्रतिशत झरेपछि धनुषाका आँपका किसानहरु चिन्तित हुनुभएको छ ।

धनुषाको बटेश्वर गापा, मिथिला नगरपालिकामा मुख्यतः किसानहरुले आँपको व्यवसायीक रुपमै खेती गर्ने गरेको छ । रातिको हावाहुरीले गर्दा रुखमा फलेको आँपको ८० प्रतिशत आपँ झरेपछि निकै समस्यामा परेको बटेश्वर गापा–१ चित्रपुर बस्ने पिछडा वर्ग महासंघका केन्द्रिय महासचिव नथुनी कुशवाहाले बताउनुभएको छ ।

उहाँले यस अघि नै बैशाख १२ गते ठुलो मात्रामा खसेको असिनाले निकै क्षति भएकै वेलामा पुनः आइतवार साँझ निकै वेगमा आएको हावाहुरीले कतेकौ रुख समेत ढालि दिनुको साथै बाँकी रहेको आपँको ८० प्रतिशत आँप झरेपछि यहाँका किसानहरुको मात्रै एक करोडभन्दा बढीको क्षति भएको बताउनुभयो ।

आँप किसानको घर घरमा अहिले आपै आँप रहेको छ । लकडाउन भएकाले बजारसम्म तरकारी र अचारको लागि समेत निर्यात गर्न सक्ने नभएकाले गर्दा किसानहरु थप पिडामा रहेको बटेश्वरकै किसान नेता रामउदगार महतोले बताउनुभयो । महतोका अनुसार उहाँकै मात्रै ५ लाख भन्दा बढीको क्षति भएको बताउनुभयो ।