
धनुषा, ०७७ जेठ २१ गते ।
धनुषा बटेश्वर गापा –१ स्थित बडहडी खोलामा जेठ २० गते राति हुदै आएको अवैध खोला उत्खन्न रोक्न गएका २० वर्षीय संजय कुमार महतोमाथि क्रसर संचालकहरुले संघातिक आक्रमण गरेका छन् ।
अवैध रुपमा बडहरी खोलामा गाउँवस्तीलाई नै जोखिममा पार्ने गरि हुदै आएको उत्खन्न रोक्न पुगेका युवाहरुमाथि क्रसर संचालकहरुले घरेलु हतियार प्रहार गरेको स्थानिय जनकलाल महतोले बताउनुभएको छ ।
अवैध रुपमा खोला उत्खन्न गर्नेहरुको आक्रमणमा परेर घाइते भएका संजय कुमार महतोको जनकपुरस्थित जानकी हेल्थ केयरमा उपचार सम्भव नभएपछि जेठ २१ गते बेलुका थप उपचारको लागि काठमाण्डौ पठाइएको इलाका प्रहरी कार्यालय महेन्द्रनगरका प्रहरी इन्स्पेक्टर पप्पु नायकले बताउनुभएको छ ।
घटनास्थल पुगेका इलाका प्रहरी कार्यालय महेन्द्रनगरका टोलीका अनुसार उत्खनन गर्ने पक्षको रडप्रहारबाट संजयको टाउको, कान र तिघ्रामा गम्भीर चोट लागेको छ । उनको अवस्था गम्भिर रहेको छ ।
ता, घाइतेका भाई शत्रुधन महतोका अनुसार खोला उत्खन्न गर्नेहरुले पेस्तोल, खुकुरी र रड बोकेर आएको बताए । दिउँसो गाउँलेहरुको करिव ५ सयको संख्यामा गएका टोलीले अवैध उत्खन्न बन्द गराएपछि पुनः राति ८ बजे फेरि उत्खन्न सुरु गरेपछि युवाहरु खोलामा रोक्न पुगेका थिए ।
प्रहरीले घटनामा सलग्न ६,७ जनाको संख्यामा रहेकाहरुले उनीहरुको खोजी कार्य भई रहेको बताएका छन् ।
बटेश्वर गाउँपालिकाले स्थानीय सत्रोहन महतोलाई १५ लाख रुपैयाँमा गाउँपालिका अन्तर्गत पर्ने खोलाको साढे ६ फिट सतहसम्म खन्ने गरी ठेक्का दिएको छ । तर ठेकेदारले १५ देखि ३० फिट गहिरोसम्म खनेर ग्राभेल निकाल्दै आएकाले गाउँलेहरु आक्रोशित भएका हुन् ।
बटेश्वर गापा –१ का वडाध्यक्ष शैलेन्द्र महतोले खोलामा अनियमित रुपमा उत्खन्न भई रहेको वारेमा आफुले पालिका अध्यक्षलाई पटक पटक छलफल गरि रोक्न आग्रह गरि रहँदा समेत अटेर गर्दै आएको बताउनुभएको छ । स्थानियबासिन्दाहरु करिव ५ सयको संख्यामा जेठ २० गते र जेठ २१ गते बटेश्वर गाउँपालिका घेराउ गरेका छन् ।