
धनुषा, ०७७ जेठ २२ गते ।
जनकपुरधाम उमनपा–४ जानकी चौकमा गिता गिफट हाउसका संचालक करिव ३६ वर्षीय श्याम चौधरी र ५५ वर्षीय झगरु चौधरीलाई प्रहरीले निर्घात रुपमा कुटपिट गरेको छ ।
कोरोना भाइरसको कारण नेपाल सरकारले गरेको लकडाउनको ७२ औं दिन जेठ २२ गते चौधरीले पसल खोलेको भन्दै जिल्ला प्रहरी कार्यालय धनुषाका प्रहरीले जथाभावी रुपमा लठठी, जुत्ताले कुटपिट गरेको पिडित श्याम चौधरीले बताउनुभएको छ ।
कुटपिट गर्दै श्याम चौधरीलाई गिरफतार गरि प्रहरीले आफनो नियन्त्रणमा समेत लिएको थियो, पछि व्यापारी व्यवसायीहरुको समन्वयमा छोडिएको छ ।कुटपिटबाट श्याम चौधरी र झगरु चौधरीको शरिरभर निलडाम परेको छ । घाइतेको उपचार प्रादेशिक अस्पताल जनकपुरमा गरिएको छ ।
यता, लकडाउनको पालना गर्दै धैयर्ताका साथ रहेको जनकपुरधामका व्यापारी, उद्योगीहरुमाथि अमानवीय तरिकाले प्रहरीले कुटपिट गरेको घटनाप्रति जनकपुरधाम उद्योग वाणिज्य संघले घोर आपत्ति प्रकट गरेको छ ।
जेठ २२ गते एक प्रेस विज्ञप्ति जारी गर्दै व्यापारीमाथि निर्घात रुपमा कुटपिट गर्ने प्रहरीमाथि कडा भन्दा कडा कारवाही गर्न जनकपुरधाम उद्योग वाणिज्य संघका अध्यक्ष ललित साह र महासचिव जितेन्द्र कुमार महासेठद्धारा हस्ताक्षरित प्रेस विज्ञप्तिमा उल्लेख छ ।
यता, जनता समाजवादी पार्टीका युवा नेता विन्दकिशोर साह (किशोर गुरु) ले समेत व्यापारीमाथि प्रहरीले विना कारण लाठीचार्ज गरि घाइते बनाएको घटनाप्रति आफनो ध्यानाकर्षण भएको जनाएको छ । घटनाप्रति खेद व्यक्त गर्दै किशोर गुरुले घटनामा सलग्न प्रहरीलाई कारवाही गर्न माग गर्नुभएको छ ।
दीपेन्द्रप्रसाद सिंह