
धनुषा, ०७७ जेठ २३ गते ।
प्रदेश २ को सामाजिक विकास मन्त्रालयअन्गर्त स्वास्थ्य निर्देशनालयको आपूर्ति केन्द्रका एक कर्मचारीमा जेठ १५ गते कोरोना भाइरसको संंक्रमण पुष्टि भएपछि २ नम्बर प्रदेश स्वास्थ्य आपूर्ति केन्द्रको कार्यालयलाई नै क्वारेन्टीन बनाएर कार्यालय सञ्चालन गरिएको छ ।
प्रदेश स्वास्थ्य आपूर्ति केन्द्रका सूचना अधिकारी श्रवण नायकका अनुसार कार्यालयमा कार्यरत ९ जना कर्मचारीको जेठ ११ गते स्वाब संकलन गरि राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला काठमाडौंमा टेष्ट गर्दा एक जना महिला कर्मचारीमा जेठ १५ गते कोरोना भाइरस भएको रिपोर्ट आएको थियो ।
रोना पोजेटिभ आएकी महिला कर्मचारीलाई प्रादेशिक अस्पताल जनकपुरको कोभिड विशेष अस्पतालको आइसोलेसनमा उपचारार्थ भर्ना गराइएको छ । कार्यालयलाई पूर्णरुपले स्यानिटाइज गरेर डिसइन्फेक्ट गरिएको छ ।
कार्यालयकै कर्मचारी कोरोना पोजेटिभ भएपछि कार्यालयका ११ कर्मचारीहरु कार्यालयको सभाकक्षलाई क्वारेन्टीनमा रुपान्तरण गरी कार्यालय सञ्चालन गर्दै आएको श्रवण नायकलले बताए ।
प्रदेश २ को आठ जिल्लाको अस्पतालदेखि स्वास्थ्य कार्यालयसम्म आपूर्ति केन्द्रले स्वास्थ्य सामग्री नियमित रुपमा आपूर्ति गर्दै आएको छ ।
स्वास्थ्य निकायलाई पर्सनल प्रोटेक्सन इक्विपमेन्ट (पीपीई), सर्जिकल मास्क, एन ९५ मास्क, ग्लोब्स, स्यानिटाइजर तथा प्रयोगशालाका लागि कोरोना परीक्षण गर्ने किट, केमिकल रिएजेन्ट लगायतका सामग्री आपूर्ति गर्दै आएको आपूर्ति केन्द्रका निर्देशक प्रमोद यादवले बताए ।
निर्देशक यादवले अन्य कार्यालय भए शिल गरिन्थ्यो तर यहाँबाटै प्रदेशभर स्वास्थ्य सामाग्री पठाइने गरेकाले गर्दा अहिले कर्मचारीहरुलाइ क्वारेन्टिनमा राखेर, अफिसमै खाना, सुत्ने र काम गर्ने गरि प्रवन्ध मिलाइएको बताए ।