
०७६ मंसिर ३०
बारामा भारतबाट आयात हुदै आएको पाइपलाइनबाट पेट्रोलियम पदार्थ भण्डारण क्षमताको नेपालमा अभाव देखिएको छ । भण्डारण क्षमताको अभाव भएपछि नेपाल आयल निगम अम्लेखगञ्ज डिपोले पेट्रोलियम पाइपलाइन ५ दिन चालु गरी ३ दिन बन्द गर्ने गरेको छ । पाइपलाइन पूर्णरुपमा सञ्चालन गर्न प्रेटोलियम पदार्थ भण्डारण गर्ने ट्यांकीको अभाव भएपछि निगमले लगातार ५ दिन सञ्चालन गर्ने र ३ दिन पुरै बन्द गर्ने गर्दै आएको छ ।
‘पाइपलाइन चलेपछि लगातार ५ दिन २४ अै घन्टा चल्छ त्यसपछि ३ दिन पुरै बन्द हुन्छ, फेरि ५ दिन लगातार चल्छ’, आयल निगम अम्लेखगञ्ज डिपोका प्रमुख प्रदीपकुमार यादवले बताएका छन् । भण्डारण क्षमता नहुँदा निगमले पाइपलाइनबाट डिजेल मात्रै आयात गर्दै आएको छ । ‘पाइपलाइन पूर्णरुपमा सञ्चालन गर्दा प्रतिघण्टा ३ लाख लिटरसम्म डिजल आयात गर्न सक्ने क्षमता हामीसँग छ’, नेपाल आयल निगमका प्रवक्ता सुशीलकुमार भट्टराईले भने, ‘तर अहिले हामीले कम प्रेसरमा प्रतिघण्टा १ लाख ९४ हजार लिटर डिजल मात्रै आयात गरिरहेका छौँ ।
हाल रक्सौलबाट पेट्रोल र मट्टीतेल लोड भए पनि डिजल भने भारतको पटनाबाट आयात भइरहेको छ । देशभरको कूल मागको ५० प्रतिशत माग धान्दै आएको अम्लेखगञ्ज डिपोले देशका मुख्य ठुला शहरहरु बिराटनगर, चितवन भैरहवा, र थानकोटका लागि अमलेखगञ्जबाट लोड भइरहेको यादवले जानकारी दिएका छन् ।