
५ गते पुस ।
जनकपुरधाम उपमहानगरपालिकाका मेयर लालकिशोर साहले दशरथ नगर टोललाई नमुना टोल बनाउन काम अगाडी बढाईने बताउनु भएको छ । दशरथ नगर टोल सुधार समितिको पहलमा शनिबार सो टोलमा भएको सरसफाईमा सहभागी भएका मेयर साहले समितिका अध्यक्ष दिपक ठाकुरको विशेष आग्रहमा यो टोललाई नमुना बनाउन पहल सुरु भएको बताउनु भयो । उहाँले सरसफाई देखि सबै क्षेत्रमा काम अगाडी बढाउन टोलबासीलाई एक जुट भई अगाडी बढ्न समेत आग्रह गर्नुभयो । विगत लामो समय देखि समितिका अध्यक्ष दिपक ठाकुरले सो टोलमा सरसफाईको लागि पहल थाल्नु भएको छ । सो अन्तरगत नियमित रुपमा दशरथ नगर क्षेत्रमा सरसफाई भईरहेपनि सफाई पछिका फोहरलाई व्यवस्थापनमा समस्या देखिएको थियो । अब सो क्षेत्रमा नियमित रुपमा उपमहानगरपालिकाको सवारी आएर फोहर उठाउने मेयर प्रतिबद्धता जनाउनु भयो । ८ नम्बर वडा अन्तरगत पर्ने सो क्षेत्रलाई नमुना क्षेत्र बनाउन आजै देखि अभियान थालिएको मेयर साहले बताउनु भयो । शनिबार बिहानै जनकपुरधाम उपमहानगरपालिकाका सफाई कर्मचारी, वडा नं. ८ का वडाध्यक्ष, वडा सदस्यहरु,नगरप्रहरी तथा अन्य कर्मचारी, सिँन्हा पब्लिक स्कुलका विद्यार्थी, टोल सुधार समितिका पदाधिकारी,स्थानियबासी लगायतको सहभागीतामा सो क्षेत्रमा सरसफाई गरिएको छ । अब नियमित रुपमा सरसफाई हुने समेत मेयर साहले प्रतिबद्धता जनाउनु भएको छ । यता, नमुना वडा बनाउनको लागि ती टोलका बुद्धिजिवीहरु संग चाडै आफुहरुले बैठक गरेर कामको योजना अगाडी बढाउने टोल सुधार समितिका अध्यक्ष दिपक ठाकुरले जानकारी दिनुभयो ।