ढल्केवरमा १ मेगावाटको सौर्य उर्जाको उत्पादन सुरु

ढल्केवर, पुस १२ गते । धनुषाको ढल्केवरमा निर्माण गरिएको ढल्केवर सौर्य विद्युत आयोजना सञ्चालनमा आएको छ । अपी पावर कम्पनी लिमिटेडले मिथिला नगरपालिका–१ ढल्केवरस्थित निर्माण गरेको ढल्केवर सौर्य विद्युत आयोजना सञ्चालनमा आएको हो ।

आईतवार एक कार्यक्रमकाबीच अपी पावर कम्पनी लिमिटेडका अध्यक्ष गुरुप्रसाद न्यौपानेले आयोजनाको उद्घाटन गरेका हुन् । उद्घाटन गर्दै अध्यक्ष न्यौपानेले सञ्चालनमा आएको आयोजनाले १ मेगावार्ट विजुली उत्पादन गर्ने जानकारी दिए । उनले यो आयोजना ९ करोड रुपैयाको लगानीमा निर्माण गरिएको जनाए ।

‘यो १ मेगावार्ट अर्थात १ हजार किलोवार्ट विजुली उत्पादन गर्ने आयोजना हो । ढल्केवरको यो आयोजना निर्माण गर्नलाई अहिलेसम्म ९ करोड रुपैया खर्च भइसकेको छ,’ अध्यक्ष न्यौपानेले भने ‘यहाँ विजुली उत्पादन गरेर हामी नेपाल विधुत प्राधिकरणलाई विक्री गर्छौ । त्यसको मासिक रुपमा विलको भुक्तानी हुन्छ ।’

यो आयोजनाबाट उत्पादित विजुली विक्रीका लागि नेपाल विद्युत प्राधिकरणको ढल्केवर ग्रीड शाखामा जडान भइसकेको उनले बताए । अध्यक्ष न्यौपानेले अब ढल्केवरमा बल्ने बत्ति आफ्नो सोलारबाट उत्पादन भएको विजुली बत्ति हुने दावी गरे । अपि पावर कम्पनीसँग ५६ हजार किलोवार्ट विजुली उत्पादन गर्ने क्षमता रहेको उनको दावी छ ।

आयोजना बारे जानकारी गराउँदै अपी पावर कम्पनी लिमिटेडका अध्यक्ष गुरुप्रसाद न्यौपाने अहिले आफ्नो कम्पनीले देशको विभिन्न ठाउँमा गरेर सोलारबाट मात्रै २८ मेगावाट विजुली उत्पादन गरिराखेको अध्यक्ष न्यौपानेले जानकारी दिए ।

यो आयोजना भित्र बसेर यहाँको समुदायसँग मिलेर कृषि विकासका अन्य कामहरु पनि गर्ने आफ्नो योजना रहेको उनले सुनाए । उनले सबै नगरपालिकाहरुमा यस्तै खालका सोलारका आयोजनाहरु निर्माण गर्नुपर्नेमा जोड दिए । ‘यस्तै खालका सोलारका आयोजनाहरु निर्माण गरेर त्यहाँको विजुलीको माग पुर्ती गर्न सक्नुपर्छ,’ अध्यक्ष न्यौपानेले भने ‘यो विजुलीबाट अन्य उद्योगहरु स्थापना गर्नका लागि कच्चा पदार्थ प्राप्त हुन्छ ।’ यो उद्योग आफैमा एउटा कच्चा पदार्थ भएको उनको कथन थियो ।

धेरै पढिएको

ताजा समाचार