धनुषासहित तराई मधेशमा हल्का वर्षा हुदै, चिसो बढ्यो

धनुषा, ०७८ पुस १४ गते । धनुषालगायत तराई मधेशमा रातिदेखि नै हल्का वर्षा भई रहेको छ । पश्चिमी न्यून चापीय प्रणालीको प्रभावले तराई मधेशमा वर्षा भई रहेको मौसमविदहरुको भनाई छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशभर सामान्य देखि पूर्ण बदली रही अधिकांश स्थानहरूमा हल्का वर्षा भइरहेको छ भने उच्च पहाडी तथा हिमाली भू भागमा हल्का हिमपात भइरहेको छ ।


बुधबार देशभर सामान्य देखि पूर्णतया बदली रही धेरै स्थानहरूमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । उच्च पहाडी तथा हिमाली भू(भागहरूका धेरै स्थानहरूमा हल्का देखि मध्यम हिमपातको सम्भावना रहेको छ । यो मौसमी प्रणालीका कारण पर्वतारोहण, हवाईरयातायात लगायत दैनिक जनजीवनमा समेत असर पर्न सक्ने देखिएकोले चिसोबाट बच्न र हिमपातबाट हुन सक्ने प्रभावबाट जोगिन आवश्यक सतर्कता अपनाउन महाशाखाको अनुरोध छ ।


बिहीबार भने देशभर आंशिक देखि सामान्य बदली रही थोरै स्थानहरूमा हल्का वर्षा र उच्च पहाडी तथा हिमाली भू(भागहरूका केही स्थानहरूमा हल्का देखि मध्यम हिमपातको सम्भावना रहेको छ । त्यस्तै शुक्रबार देशभर आंशिक बदली रही एक वा दुई स्थानहरूमा हल्का वर्षा र गण्डकी प्रदेश र प्रदेश नं १ को उच्च पहाडी तथा हिमाली भू भागहरूका एक वा दुई स्थानहरूमा हल्का हिमपातको सम्भावना रहेको छ ।

धेरै पढिएको

ताजा समाचार