१५ दिन भित्र प्रदेश २ को नाम र राजधानीबारे सहमति गर्न दलिय समिती गठन

धनुषा, ०७८ पुस १४ गते । प्रदेश २ को नाम र राजधानीका दलहरुले फरक फरक नाम र राजधानी पेश गरेपछि दलीय सहमतिका लागि सभामुख सरोज कुमार यादवको संयोजकत्वमा विशेष समिति गठन गरिएको छ । समितिले काम थालेको १५ दिन भित्रमा प्रतिवेदन सभामा पेश गर्नुपर्ने प्रावधानसहितका समितिमा उपसभामुख उपमा देवलाई समितीको उप–संयोजक राखिएको छ । समितीमा प्रत्येक दलबाट २ जना सांसदलाई सदस्य राखिएको छ ।
जसपाबाट ३ जना सांसद समितिमा सदस्य रहेका छन् । समितिको सदस्यहरुमा कांग्रेसका सांसद शिवचन्द्र चौधरी, उपेन्द्र कुश्वाहा, जसपाका बिन्देश्वर यादव ‘बिक्की’, संजय यादव र शैलेन्द्र कुमार यादव, माओवादी जगत यादव र दिलिप साह, एमालेका शारदा थापा र किशोरी साह ‘कमल’, लोसपाका परमेश्वर साह र सुरिता साह रहेका छन् ।
सत्तारुढ दल नेकपा एकीकृत समाजवादीका सत्रुधन महतो र सुन्दर वहादुर विश्वकर्मा र नेपाल संघीय समाजवादी पार्टीबाट सावित्री देवी साह रहेका छन् । समितिले प्रदेशको नाम र राजधानीको विषयमा दलहरुले राखेको प्रस्तावको अध्ययन, छलफल तथा दलहरु बीच अन्तरक्रिया गरी दलीय सहमतिको प्रयास गरिने छ ।
प्रदेशको नामको सम्बन्धी ५ वटा प्रस्ताव र राजधानीको विषयमा दुई वटा प्रस्ताव प्रदेश सभामा दर्ता गरिएको छ । जनता समाजवादी पार्टी, लोकतान्त्रिक समाजवादी पार्टी र माओवादी केन्द्रले प्रदेश २ को नाम मधेस प्रस्ताव गरेको छ । भने एमाले र नेकपा एसले जानकी, कांग्रेसले मिथिला–भोजपुरा नाम प्रस्ताव गरेका छन् । कांग्रेसका केही सांसदले मध्य मधेस नाम राख्नुपर्ने भन्दै छुट्टै प्रस्ताव दर्ता गराएका छन् ।

धेरै पढिएको

ताजा समाचार