
धनुषा,०७८ पुस १६ गते । अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) जनकपुरले प्रदेश २ को मानव अधिकार अवस्था विषयक छलफल कार्यक्रम पुस १६ गते सम्पन्न गरेको छ । इन्सेक प्रदेश २ प्रमुख राजु पासमानले छलफल कार्यक्रममा प्रदेश २ मा मानव अधिकार उल्लंघनका घटनामा सामान्य वृद्धि भएको बताउनु भयो ।
प्रदेश २ मा सन् २०२१ मा सात सय ५२ ओटा मानव अधिकार उल्लंघन घटना भएको तथ्यांक प्रस्तुत गर्नुभयो । राज्यपक्षबाट ६३ ओटा घटना प्रदेश २ मा भएको इन्सेक प्रदेश २ प्रमुख पासमानले तथ्यांक प्रस्तुत गर्नु भयो ।
प्रदेश नं.२ मा २६१ ओटा बलात्कारका घटना भएको जसमध्ये १ सय ५१ ओटा घटनामा बालबालिका पीडित भएको बताउनुभयो । यौनदुव्र्यहारका ६४ वटा घटना मध्ये ५१ जना बालिका यौनदुव्यवहारको घटनामा पीडित भएको बताउनुभयो ।
समग्रमा प्रदेश २ मा बालवालिकाहरुमा ८ जना पुरुषसहित २२५ जना पीडित भएको र महिला अधिकारको सवालमा २६४ जना महिला पीडित हुनु भएको तथ्यांक प्रदेश २ प्रमुखले प्रस्तुत गर्नु भयो । प्रदेश २ मा ८५ ओटा हत्या, ५८ ओटा कुटपिट, ४ जना गिरफतार, मानवीय दुव्र्यवहारका २३ ओटा, यातनाका १ ओटालगायतका घटना भएको बताउनु भयो ।

धनुषाका प्रमुख जिल्ला अधिकारी बन्धु प्रसाद बास्तौलाले कानूनले प्रतिबन्ध गरेको बाहेकको अवस्थामा जिल्ला प्रशासन कार्यालयबाट पाउने सुविधाहरु निर्वाध रुपमा प्रदान गर्दै आएको बताउनुभयो ।
सहभागिहरुले कार्यालयहरुले सुचना नदिई लुकाएको गुनासो गरेपछि प्रमुख जिल्ला अधिकारी वास्तोलाले प्रत्येक कार्यालयमा सुचना अधिकारी राखिएको र सुचना अधिकारीसंग प्रत्येक ३ महिना बैठक हुने गरेको बताउनुभयो । सुचना लिन र दिन कसैलाई बञ्चित नगराईने बताउँदै उहाँले कुनै पनि कार्यालयले सूचना नदिएको खण्डमा आफुलाई जानकारी गराएमा ती कार्यालय प्रमुखलाई सुचना दिन लगाउने बताउनुभयो ।