धनुषामा स्मार्ट लकडाउन, २५ जना भन्दा बढी भेला नहुने आग्रह

धनुषा,०७८ पुस २९ गते । कोरोना संक्रमण बढ्दै गएको भन्दै जिल्ला प्रशासन कार्यालय धनुषाले जिल्लामा २५ भन्दा बढी व्यक्तिलाई एक ठाउँमा उपस्थित नहुन पुस २८ गतेदेखि निर्देशन दिएको छ ।

कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (सिसिएमसि)को सिफारिश र गृह मन्त्रालयको निर्देशनअनुसार जिल्ला प्रशासन कार्यालय धनुषाले कोरोना संक्रमण फैलिन नदिनका लागि विभिन्न निर्णय गरेका छन् ।


प्रमुख जिल्ला अधिकारी सुरेन्द्र पौडेलले २५ जना भन्दा बढी मानिसको उपस्थिति हुने गरी कुनै पनि किसिमको मेला, भेला तथा महोत्सवहरु एवं सामाजिक लगायतका कार्यहरु नगर्न गराउन आदेश जारी गर्नुभएको हो ।


सार्वजनिक स्थानहरु (कार्यालय, होटल, रेष्टुरेण्ट, सिनेमा हाल, रंगशाला, हवाईयात्रा, पार्क आदि) मा प्रवेश गर्दा माघ ७ गते देखि कोभिड–१९ विरुद्धको खोप लगाएको कार्ड (मोबाइलमा फोटो भएपनि हुने) निर्णय गरेका छन् । माघ ७ गते देखि जिल्ला भित्रका सबै सार्वजनिक निकायमा सेवा प्राप्त गर्न खोप कार्ड अनिवार्य गर्ने प्रशासनले निर्णय गरेको छ ।


स्वास्थ्य कार्यालय धनुषाले स्थानीय तहसँग समन्वय गरी सिमानाका लगायत सार्वजनिक स्थानहरुमा निःशुल्क एन्टिजेन टेस्ट बुथहरु स्थापना गर्ने र नियमित परिक्षण गर्ने, गराउने निर्णय भएको प्रमुख जिल्ला अधिकारी सुरेन्द्र पौडेलले बताउनुभयो ।

आदेश अनुसार घर बाहिर वा सार्वजनिक स्थलमा निस्कँदा सबैले अनिवार्य मास्कको प्रयोग गर्ने, भौतिक दूरी कायम गर्ने, साबुन पानीले हात धुने लगायतका स्वास्थ्य मापदण्ड पालना गर्न भनिएको छ । राजनीतिक, आर्थिक, सामाजिक, व्यवसायिक तथा अन्य गतिविधि सञ्चालन गर्दा स्वास्थ्य मापदण्डको पूर्ण पालना गर्न भनिएको छ ।


सार्वजनिक ठाउँमा राजनीतिक तथा धेरै मानिस उपस्थित हुने गरी प्रशासनिक तथा सामाजिक कार्यक्रम नगर्न पनि आदेश जारी गरिएको छ । अत्यावश्यक कार्यक्रमको हकमा प्रशासनको अनुमति लिएर मात्रै गर्ने जनाइएको छ ।

धेरै पढिएको

ताजा समाचार