धनुषा,०७८ माघ १७ गते । गणेशमान चारनाथ नगरपालिका–४ वीरेन्द्र बजारमा निर्माणाधिन धनुषा आयल स्टोर्स ,पेट्रोल पम्पका म्यानेजर ३५ वर्षीय भुपेन्द्र राईलाई अपरिचित समूहले निर्घात रुपमा कुटपिट गरेको छ ।
माघ १५ गते बेलुका सात वटा मोटरसाइकलमा तीन÷तीन जना सवार भइ आएका व्यक्तिहरुले गाली गलौज गर्दै म्यानेजर राइलाई ईट्टाले प्रहार गरेको पप्पका संचालक तथा पेट्रोलियम डिलर्स एशोसिएन जनकपुरधामका अध्यक्ष विष्णुदेव साहले बताउनुभयो । अपरिचित व्यक्तिहरुको आक्रमणबाट राईको मुख र टाउकोमा गंभीर चोट लागेको छ । प्रादेशिक अस्पताल जनकपुरमा उपचार सम्भव नभएपछि विराटनगर पठाइएको संचालक साहले बताउनुभयो ।
निर्माणाधिन अवस्थामा रहेको पम्पमा आएर केही व्यक्तिहरुले चन्दा माग गर्दै आएको र सोही व्यक्तिहरुले म्यानेजर राईमाथि आक्रमण गरेको हुन सक्ने आशंका गरिएको इलाका प्रहरी कार्यालय ढल्केवरका इन्स्पेक्टर प्रदिप सुवेदीले बताउनुभयो ।

आक्रमणको क्रममा संचालक विष्णुदेव साहका छोरा विवेक साहलाई समेत चोटपटक लागेको छ । संचालक विष्णुदेव साहले घटनाबारे तत्कालै इलाका प्रहरी कार्यालय ढल्केवर र जिल्ला प्रहरी कार्यालय धनुषामा जानकारी गराएको भएपनि घटना भएको एक घण्टापछि प्रहरी घटनास्थल पुगेको गुनासो गर्नुभयो ।
पेट्रोलियम डिलर्स एशोसिएन जनकपुरधाम र जनकपुरधाम उद्योग वाणिज्य संघले छुटा छुटटै रुपमा माघ १६ गते विज्ञप्ति जारी गर्दै दोषीमाथि तत्काल कारवाहीको माग गरेको छ । घटनाको भत्र्सना गर्दै दोषीमाथि कारवाही नगरिए एशोसिएन र उद्योगीहरु संघर्ष गर्न बाध्य हुने चेतावनी समेत दिइएको छ । विज्ञप्तिमा व्यवसायी उपर यस प्रकारको घटनाले व्यापार व्यवसाय गर्न असुरक्षाको अनुभूति गरेकोले दोषीलाई तत्काल कानून बमोजिम कारवाही नगरिए जिल्लाको पम्पहरु बन्द गरेर कडा कदम चाल्न एशोसिएन बाध्य हुने अध्यक्ष विष्णुदेव साहद्धारा हस्ताक्षरित विज्ञप्तिमा उल्लेख छ ।
यो विषयमा आफ्नो प्रतिक्रिया दिनुहोस् !