नगराइन नपामा भ्रष्टाचारको विरुद्धमा नेकपाका वडाअध्यक्षहरु भण्डाफोर अभियान चलाउने

धनुषा, ०७६ माघ ६ गते ।
धनुषाको दक्षिणवर्ती भारतीय सिमानाकासंग जोडिएको नगराईन नगरपालिकाका मेयर परमेश्वर यादवले विभिन्न योजनामा आफनो राजीखुशी गर्दै मनोमानी गरेको भन्दै नेकपाका वडाअध्यक्षहरुले भण्डाफोर अभियान चलाउने भएको छ । नगराइन नपाको मेयरले स्थानीय सरकार सञ्चालन ऐन २०७४ बमोजिम कुनै काम नै नगरी नगरमा हुने बिकास निर्माणका कार्यहरुमा व्यापक भ्रष्टाचार गर्दै आएकोले मेयरविरुद्ध आफुहरुले भण्डाफोर अभियान चलाउने नगराइन नगरपालिका संघर्ष समिती नेकपाका संयोजक रामबाबु पंजियारले बताएका छन् ।
सोमवार जनकपुरमा पत्रकार सम्मेलनको आयोजना गर्दै संघर्ष समितीले १२ बुन्दे माग समेत गरेका छन् । पत्रकार सम्मेलनमा संयोजक रामबाबु पंजियारले नगरका मेयर परमेश्वर यादवले नगरसभाबाट पास नै नगरी वडा नम्बर–८ स्थित अकौरा ठाकुर पोखरीको घाट निर्माणमा ५० लाख,वडा नम्बर–३ मा २५ लाख र वडा नम्बर–९ मा २५ लाख गरि जम्मा १ करोड रुपैया घोटाला गरेको आरोप समेत लगाएका छन् । मेयरले नगरको विकास निमार्णको काम आफनै आसेपासे र छोरालाई दिएर व्यापक रुपमा अनियमितता गरेको भन्दै आफुहरुले अख्तियार दुरुपयोग आयोगको कार्यालयमा समेत जानकारी गराएको र अख्तियारले समेत छानविन गर्दै आएको नगराइन नपा ८ का अध्यक्ष संजय राउतले बताए ।
आयोजित पत्रकार सम्मेलनमा वडा नं. ७ का अध्यक्ष रामदुलार मुखियाले नगरभित्र गरिव, दलितहरुको घर, वस्तीमा जडान गरिएको हेण्ड पाइप जडान गर्दा १० हजारदेखि १५ हजार रुपैया कमिसन लिएको समेत खुलासा गरेका छन् । उनले भने मेयरले वडाको योजनामा सरसफाई र खानेपानीको योजनालाई लत्याउँदै आफुअनुकुल योजना र बजेट बहुमतको आधारमा ल्याएर नगरलाई विकासको गतिबाट रोकेको आरोप लगाएका थिए ।
संघर्ष समितीले माग गरेको १२ बुन्दे मागमा नगरबाट वडाको लागि विनियोजन गरेको रकम वडा समितीको निर्यणबाट योजनाहरुको छनौट र सञ्चालन गर्न पाउने, वडाभित्र हुने जुन सुकै प्रकारको काम उपभोक्ता समितीमार्फत हुनुपर्ने र सामाजिक सुरक्षाभत्ता चौमासिक रुपमा निकासा हुनुपर्ने, आर्थिक बर्ष २०७६÷०७७ को तेश्रो नगरसभाबाट पारित भएको वडास्तरिय योजनालाई कार्यपालिका बैठकको बहुमतबाट संशोधनको निर्णय गर्न नपाउने, तथा २०७६÷०७७ को चौथो नगरसभाबाट अनुमोदन गराउन नपाउने साथै नगरसभाबाट पारित भएको वडास्तरीय योजनालाई कार्यान्वयन गर्नबाट रोक्न नपाउने, प्रधानमन्त्री स्वरोजगार कार्यक्रमलाई परिवर्तन गरि मेयर स्वरोजगार कार्यक्रम नामाकरण गरि काम गर्न नपाउने लगायतका १२ बुँदे मागहरु नेकपाका वडाध्यक्षहरुले अघि सारेका हुन् ।
नगराइन नपामा मेयर,उपमेयरलगायत काग्रेसबाट विद्रोही भई चुनाव जितेका लगाएर ५ जना वडामा नेपाली काग्रेस र ४ जना नेकपाका वडा अध्यक्षहरु निर्वाचित छन् । यसअघि संघर्ष समितीले नगराइन नपाले विना सुचना गोप्य तरिकाले नगर परिषद गर्न लागेको भन्दै पुस २७ गते नगरको मुख्यगेटमा तालावन्दी गरेका थिए । संघर्ष समितीले लगाएको ताला स्थानिय प्रशासनले कार्यालय संचालनमा अप्ठयारो भएको भन्दै माघ ५ गते तोडेका छन् । यता, संघर्ष समितीले लगाएको ताला विना सहमति तोडेकाले गर्दा आफुहरु शान्तिपूर्ण आन्दोलनमा रहँदै आफुहरुको माग पुरा नभएको खण्डमा पुनः नगरको मुख्यगेटमा तालावन्दी गर्दै आन्दोलित हुने संघर्ष समितीले चेतावनी दिएका छन् ।

धेरै पढिएको

ताजा समाचार