
धनुषा,०७६ चैत्र ७ गते । प्रदेश २ को नाम र स्थायी राजधानी टुंगो लाग्न नसक्दा प्रदेशका प्रमुख सचिव भागेका छन् ।बुधवार दिउँसो २ बजे सम्म कार्यालयमा रहेका प्रमुख सचिव रामकृष्ण सुवेदी अचानक भागे ।
प्रदेश २ को मन्त्रीपरिषद बैठक बस्ने तयारी भइरहेको बेला सचिव सुवेदी अचानक कार्यालयबाट हिडेको मुख्यमन्त्री तथा मन्त्रीपरिषदको कार्यालय स्रोतले जनाएकोछ ।
प्रदेश २ मा सुवेदी आएको ४ महिना भएको थियो ।चार महिनामा उनी लगातार प्रदेशमा १५दिनपनि बसेका थिएनन् ।साँझ मन्त्रीपरिषदको बैठक बस्ने भएको थियो ।सचिव सुवेदीले मन्त्रीपरिषद बैठकमा लगिने प्रस्तावहरु तयार गर्न श्याम सुन्दर महतोलाई अह्राएकापनि थिए ।तर उनी आफै हिडेपछि मन्त्रीपरिषद बैठकपनि स्थगित भएको हो ।
मन्त्रीपरिषद बैठकले आर्थिक विधेयकलाई स्वीकृतगरि प्रदेश सभामा दर्ता गरिने तयारी भएको थियो ।तर सुवेदी भागेपछि सबै काम प्रभावित भएकोछ ।
गत आर्थिक वर्षको बक्यौता भुक्तानी गर्न आर्थिक विधेयक ल्याउन गत सोमवार प्रदेश सभा परिसरमा बृहत्त बैठक भएको थियो ।सो बैठकले बक्यौता रकम भुक्तानीका लािग आर्थिक विधेयक ल्याउने निर्णय गरेको थियो ।
प्रमुख सचिव सुवेदी भुक्तानीको पक्षमा थिएनन् ।उनले आर्थिक मन्त्रालयको ठाडो प्रस्ताव रोकेर असहमति जनाएका थिए ।तर उनले समेत हस्ताक्षर गरेको निर्णय अनुसार आर्थिक विधेयकको प्रकृया अगाडी बढन लागेपछि सुवेदी भागेका हुन् ।
गत वर्षको झण्डै ८७ करोड रकम भुक्तानी गर्न बाँकी छ ।उक्त रकम भुक्तानी गर्न प्रमुख सचिव तयार थिएन् ।
मुख्यमन्त्री लालबाबु राउतले प्रमुख सचिव सुवेदीबाट सहयोग नभएको दुखेसो प्रदेश सभा बैठकमा समेत पोखेका थिए ।कर्मचारी असहयोगको कारण प्रदेश २ मा काम अगाडी बढन नसकेको बताउँदै केन्द्रिय सरकारले संघीयता विरोधी कर्मचारीहरुलाई प्रशिक्षित गरेर पठाउने गरेको आरोप समेत लगाएका थिए ।
‘प्रमुख सचिव दिउँसो २ बजेपछि भागेका छन्’मुख्यमन्त्रीका प्रमुख स्वकिय सचिव जितेन्द्र यादवले भने, दिउँसो सम्म कार्यालयमा कार्यरत्त रहेका सुवेदी २ बजे पछाडि अचानक भागे ।उनले चढने गाडी समेत लगेका छैनन् ।
बुधवार नै एकजना प्रदेश सचिव मुख्यमन्त्री कार्यालयमा हाजिर भएका छन् ।नयाँ सचिव हाजिर भएकै दिन प्रमुख सचिव भागेका हुन् ।सुवेदी भागेपछि प्रमुख सचिव कहिले आउने निश्चित छैन् ।प्रमुख सचिव नहुँदा मन्त्री परिषदको बैठक लगायतका महत्वपूर्ण कार्यहरु प्रभावित हुनेछ ।
सुवेदी मधेश भवन छाडिसकेपछि मात्र केहि कर्मचारीलाई आफू हिडेको जनाउ दिएका थिए ।प्रदेशको नाम र राजधानीको टुंगो लाग्न नसक्दा मन्त्रीहरु तनावमा रहेको बेला सुवेदीले अर्को तनाव दिएका छन् ।साभार : जनकपुर टुडे