
माघ २०, २०७६
दिनेश बिष्ट
सुदूरपश्चिममा खेलकुद प्रतियोगिताहरु प्रशस्तै आयोजना हुने गरेका छन् । स्थानीय स्तरबाटै उत्पादन भएका खेलाडीहरु राष्ट्रिय स्तरसम्म पुगेका छन् । समग्रमा सुदूरपश्चिममा खेलकुदको माहौल उत्साहजनक छ ।
तर यस्ता अधिकांश खेल गतिविधिहरु पुरुषका लागि मात्र आयोजना हुने गरेका छन् । जसका कारण स्थानीय स्तरबाट उत्पादित प्रतिभाहरु पनि पुरुष मात्र छन् । खेलका लागि वर्षेनि करोडौँ बजेट खर्च हुने गरे पनि महिला प्रतिभाहरुले भने पर्याप्त अवसर पाएका छैनन् ।
पुरुष क्रिकेट प्रतियोगिताका लागि धनगढी ‘हब’ नै हो । तर महिला क्रिकेट प्रतियोगिता भने धनगढीमा न्यून हुने गरेको छ । महिलाका लागि खेलकुद प्रतियोगिता नियमित आयोजना नहुँदा प्रदेशबाहिर हुने प्रतियोगिताहरुमा पठाउन नसकिने अवस्था आएको छ । यसअघि विभिन्न प्रतियोगितामा सुदूरपश्चिमका खेलाडीहरुले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय पदकसमेत प्राप्त गरिसकेका छन् । तर नयाँ खेलाडी उत्पादनमा भने कसैको ध्यान गएको छैन ।
अझ महिला खेलकुद प्रतियोगितामा कसैले चासो दिएका छैनन् । जसका कारण महिला खेलकुदको विकास हुन सकेको छैन । महिला खेलाडी उत्पादनकै लागि जिल्ला खेलकुद विकास समिति कैलालीले विद्यालयस्तरीय महिला टि-ट्वान्टी क्रिकेट प्रतियोगिता आयोजना गर्यो ।
महिला खेलाडी उत्पादनमा टेवा पुग्ने अपेक्षाले प्रतियोगिता आयोजना गरिएको खेलकुद विकास समितिले जनाएको छ । विद्यालयस्तरीय प्रतियोगिताले खेलाडी उत्पादनसँगै उत्कृष्ट खेलाडीलाई अन्य प्रतियोगितामा सहभागी गराउनसमेत सहयोग पुग्ने अध्यक्ष बाबुराजा श्रेष्ठले बताए ।
खेलकुद क्षेत्रमा क्रियाशील महिला खेलाडीहरु पनि केही वर्षयता नयाँ महिला खेलाडीहरु उत्पादन हुन नसकेको बताउँछन् । पुरुष खेलाडीहरुले खेल तालिम र प्रतियोगिताहरुमा सहभागी हुने अवसर पाए पनि आफूहरुले त्यस्तो अवसर पाउन नसकेको महिला खेलाडीहरुले बताउँदै आएका छन् ।
महिला खेलकुदका लागि सरकारीस्तर होस् या व्यापारिक क्षेत्रबाट होस् सहयोग हुन नसकेको उनीहरुको गुनासो छ । महिला खेलाडी उत्पादनमा सरकारी सहयोग र निजी क्षेत्रको पहल आवश्यक रहेको प्रशिक्षक जानकी भट्टले बताइन् । विगतबाटै महिला खेलाडी उत्पादनमा लागे पनि ‘छोरीलाई खेलाडी बनाउनुपर्छ’ भन्ने मानसिकता कसैमा नदेखिएको उनको भनाइ छ ।
खेलकुद विकासका लागि सानै उमेरबाट प्रोत्साहन र प्रतियोगितामा सहभागी हुन जरुरी रहेको नयाँ खेलाडीहरु बताउँछन् । अन्य प्रतियोगितामा सहभागी गराउन यस्ता साना प्रतियोगिताले टेवा पुग्ने उनीहरुको भनाइ छ । खेलकुदप्रति रुचि हुँदाहुँदै पनि आफ्नो रुचिलाई मनमै राखी पुरुषका खेल हेरेर चित्त बुझाउनु परेको महिला खेलाडीहरुको गुनासो छ ।
महिला पनि क्रिकेट, फुटबललगायत प्रतियोगितामा उपाधि जित्न सक्छन् भन्ने कुरा धेरै महिलाहरुले देखाइसकेकाले सानै उमेरमा महिलाका लागि पनि लगानी गर्न सरकारसँग उनीहरुले माग गरेका छन् ।
पहिलोपटक क्रिकेट खेल्न पाएकी एरिस्टो बोर्डिङ स्कुलमा कक्षा ७ मा अध्ययनरत करिश्मा खड्काले महिलाका लागि पनि खेलकुद प्रतियोगिताहरु नियमित आयोजना गर्न आग्रह गरिन् । अवसर पाए महिलाहरुले पनि राम्रो नतिजा ल्याउन सक्ने उनको धारणा छ । धनगढीकै लिटिल फ्लावर बोर्डिङ हाई स्कुलमा कक्षा ५ मा अध्ययनरत नितु खड्का पनि प्रतियोगिताहरुमा नियमित सहभागी हुन पाउँदा खेल कौसल बढ्ने बताउँछिन् । पहिलोपटक क्रिकेट खेल्न आएकी उनले प्रतियोगिताबाट धेरै कुरा सिक्न पाएको बताइन् ।