
२०७६ मंसिर १९, जनकपुरधाम
१३ औं दक्षिण एसियाली खेलकुद (साग) अन्तर्गत कुस्ती प्रतियोगिताको सम्पूर्ण तयारी पुरा भएको छ । जनकपुरमा आयोजना हुने स्थल कवर्ड हलको मर्मत सम्भारदेखि खेलाडीहरुको बासस्थानलगायतको सम्पूर्ण तयारी पुरा भएको छ । सागको सम्पूर्ण तयारी पुरा हुनुको साथै खेलमा सहभागि हुने खेलाडीहरु समेत जनकपुर आइ पुगेका छन । शुक्रबारदेखि चार दिनसम्म चल्ने कुस्तीका लागि नेपाललगायत पाँच देशका खेलाडी सहभागी हुने भएको छ । खेलमा सहभागी हुने सबै खेलाडी बुधबारै साँझसम्म जनकपुर आइपुगेको धनुषा जिल्ला खेलकुद विकास समितिका अध्यक्ष कमलकिशोर चौधरीले जानकारी दिएका छन् ।
सागमा सात देशको सहभागिता रहेपनि कुस्तीतर्फ माल्दिभ्स र भुटानले भाग नलिने भएको छ । नेपाल, भारत, बंगलादेश, श्रीलङ्का र पाकिस्तान कुस्तीमा भाग लिइरहेका छन् । ती मध्ये पाकिस्तान बाहेक चारवटै देशका महिला पहलमान (कुस्तीवाज) पनि भाग लिइरहेका छन् । खेलाडीहरुका लागि जनकपुर र बर्दिबासका सबै होटल बुकिङ गरिएको छ । जनकपुरमा ठाउँ नपुगेपछि बर्दिबासमा पनि व्यवस्था गर्नुपरेको आयोजकले जनाएको छ ।
जनकपुरस्थित कबर्डहलभित्र खेल हुनेछ । हलभित्र सिमित दर्शकमात्र अटाउन सक्ने भएकाले कबर्डहल बाहिर र जानकी मन्दिर परिसरमा ठूलो पर्दा लगाएर प्रत्यक्ष प्रशारणको व्यवस्था मिलाइएको छ ।
कुस्तीका लागि छनोट भएका नेपाली खेलाडीहरु
नरेश यादव, सरोज यादव, बुन्नीलाल राउत अहिर, राज यादव, सागर यादव, सुरेश चुनारा र सुमिरकुमार साहले नेपालको तर्फबाट कुस्तीमा भाग लिनेछन् । चुनारा महेन्द्रनगरबाट आएका हुन् भने अन्य सबै खेलाडी प्रदेश २ कै हुन् ।
महिलातर्फ मनिषा सिंह, संगीता धामी, सुशिला चन्द, सिवांगी दुवे, अम्बिका भण्डारी, निर्मला जागरी र कोमल खत्रीको नाम सिफारिस भएको छ । उनीहरु पनि बुधबारै साँझ जनकपुर आइपुगेको चौधरीले जनाए ।