प्रथम राष्ट्रिय महिला तथा पुरुष भारोतोलन प्रतियोगिता हुने

राम नारायण यादव,राजविराज

सप्तरीका पूर्व राष्ट्रिय भारोतोलन खेलाडी देवसुन्दर यादवको स्मृतिमा फागुन २९ गते देखि राजविराजमा हुने ‘देवसुन्दर यादव प्रथम राष्ट्रिय महिला तथा पुरुष भारोतोलन प्रतियोगिताको’ सम्पूर्ण तयारी पुरा भएको छ ।

जिल्ला भारोतोलन संघ सप्तरीले शनिबार राजबिराजमा पत्रकार सम्मेलनको आयोजना गरी प्रतियोगिताको सम्पूर्ण तयारी पुरा भएको जानकारी दिदै खेल तालिका समेत सार्वजनिक गरेको छ । भारोतोलन संघ सप्तरीका अध्यक्ष महेश प्रसाद यादवले पत्रकार सम्मेलनमा बोल्दै प्रतियोगितामा सातवटै प्रदेश संगै सेना, सशस्त्र र नेपाल प्रहरीका विभागिय टिमको समेत सहभागिता रहने जानकारी दिए ।

प्रतियोगितामा कुल १ सय २५ खेलाडी सहभागी रहने महिला खेलाडीको संख्या ४० देखि ५० सम्म रहने उनले बताए । प्रतियोगितामा १८ लाख रुपैयाँ खर्च हुने अनुमान गरिएको छ । प्रतियोगिताका लागी जिल्ला संघकै पहलमा स्थानिय तह र विभिन्न संघ संस्था, व्यक्तीबाट उक्त सहयोग रकम जुटाईने उनले पत्रकार सम्मेलनमा जानकारी दिए ।

प्रतियोगितामा विभिन्न तौल समुहमा महिला र पुरुष तर्फ ३५÷३५ खेलमा प्रतिस्पर्धा हुनेछन् । यस्तै प्रतियोगिताको उद्घाटन प्रदेश २ का समाजिक विकास मन्त्री नवल किशोर साह (रामबाबु)ले उद्घाटन गर्ने आयोजक समितिले पत्रकार सम्मेलनमा जानकारी दिए ।

पत्रकार सम्मेलनमा भारोतोलन संघका केन्द्रिय अध्यक्ष रामकृष्ण श्रेष्ठ महासचिव तिलक बहादुर राउत, संघका सल्लाहकार सूर्यनाथ यादव, जिल्ला खेलकुद विकास समितिका कार्यालय प्रमुख दिनेश भुजेल लगायतले पनि प्रतियोगिताबारे जानकारी गराएका थिए ।

प्रतियोगिताका विजेता खेलाडीलाई कप, मेडल, कदरपत्रका साथै उत्कृष्ट खेलाडीको चयन गरी नगद पु्रस्कार समेत दिइने कार्यालय प्रमुख भुजेलले पत्रकार सम्मेलन मार्फत जानकारी दिए ।

धेरै पढिएको

ताजा समाचार