
धनुषा, ०७६ चैत्र ६ गते ।
तरकारी किन्न धेरैजसो म आफै बजार जाने गरेको छु । एकदिन अलि ढिलो भयो र करिव साँझ ७ बज्न लाग्दा म स्टेशन चोकको तरकारी पसल पुगे त्यहाँबाट एक किलो काउली किने र घर आए । संयोगबस मेरो छिमेकीले पनि काउलीनै किन्नु भएको रहेछ । मैले २० रुपैयाँमा किनेको काउली उहाँले १० रुपैयामा किन्नु भएको रहेछ । पसल बन्द हुने बेलामा सामान सक्न भनेपनी उनीहरुले सस्तोमा बेच्ने रहेछन् ।
हामी समुहमा गाउँतिर एक घटनाको अनुगमनमा पुगेका थियौं । काम सम्पन्न भएपछि नजिकै हटिया लागेको थियो, भर्खर हटियामा तरकारी आउनै लागेको थियो, किन्नेहरु पनि आइ सकेका थिएनन्, दुई, चार जना किसानहरु आएर बसि रहेका थिए । हामी साथीहरु गाउँको हरियो ताजा तरकारी किन्न गयौं, गाउँघरका किसान हामी सुटवुटमा देखेर चलन चलतीभन्दा अलि बढी नै भनेछ । तर पनि हामीलाई शहर जनकपुरभन्दा सस्तै लागेको थियो, किनकी हामी जहिले पनि बासी तरकारी महगोमै किन्ने बानी छ ।
भान्टा खरिद गर्न लाग्दा ५० रुपैया भनेको प्रति किलो साथीहरुले ४० रुपैया प्रति किलो किन्नुभयो । गाउँमा तरकारीको भाउँ थाहा थिएन, एक प्रकारले ४० रुपैया दाम खुल्यो म अर्को किसान कहाँ गए भान्टा कसरी किलो भने किसानले ४० रुपैया भन्नुभयो, मैले भने त्यहाँ त ३० कै दरले दिदै हुन्छ अनि, किसानले हजुर कति लिनुहुन्छ । भर्खरै आएकोछु, साइत बनाउनु लिनुहोस् भन्नुभयो मैले २ किलो किने खुशीका साथ किसानले दिनुभयो ।
फेरि केही किन्ने ग्राहकहरु आउँदै थिए, सवैलाई ४० रुपैया भन्दा कम पैसामा नबेच्ने भन्दै ४० रुपैयाकै दरले बेच्नुभयो । म हेरेको हेरे भए । मैले सोचे किन होला, किसानले भन्नुभयो हजुरले (बोहनी) आजको पहिलो ग्राहक हुनुभएकोले साइत बनाउन अलि थोरै भएपनि दिएको हुँ ।
दिपेन्द्रप्रसाद सिंह