
एजेन्सी
०७६ फागुन १३ गते ।
भारतको औपचारिक भ्रमणका क्रममा भारत आइपुगेका अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले भारतीय सेनालाई थप बलियो बनाउन अमेरिकाले सघाउने बताएका छन् । ‘हामी साझा रुपमा ‘एडभान्स डिफेन्स सिस्टम’ माथि काम गर्दैछौं । भारतलाई रक्षा उपकरण दिँदैछौं । जसमार्फत हामी आतंकवादविरुद्ध मिलेर लड्नेछौं’, उनले भने, ‘हामीले स्लामिक स्टेटलाई ध्वस्त र्पायौं । अल–बगदादीलाई सिध्यायौं, यो लडाईं मिलेर लडिनेछ।’
ट्रम्पले ‘पाकिस्तानसँग पनि हाम्रो राम्रो सम्बन्ध छु’ ‘त्यसैले, आतंकवादविरुद्ध लड्न हामीले पाकिस्तानसँग पनि हातेमालो गरिराखेका छौं । अमेरिका दक्षिण एसियामा शान्ति र स्थिरता चाहन्छ ।’ आउँदा दिनमा भारत झनझन् बलियो हुँदै जाने भन्दै उनले भारतीयलाई ‘भाग्यमानी’ भने । ‘तपाईंहरू भाग्यमानी हुनुहुन्छ।किनकि तपाईंहरू भारतमा बस्नुहुन्छ । तपाईंको देश संसारकै लागि लोकतन्त्रको उदाहरण हो ।’ ‘नमस्ते ट्रम्प’ शीर्षकको कार्यक्रममा एक लाखभन्दा धेरै मानिसहरू सामेल थिए ।
यसैविच, भारतले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको भब्य स्वागत गरेका छन् । ट्रम्पको भ्रमणको अवसरमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले सोमबार एक विशाल सार्वजनिक कार्यक्रम समेत गरेका छन् । अहमदावादस्थित मोटेरा रंगशालामा आयोजित ‘नमस्ते ट्रम्प’ शीर्षकको कार्यक्रममा यी दुवै नेता एकअर्काको खुलेर प्रशंसा गरेका छन् । मोदीले ट्रम्प र उनकी पत्नी मेलानियाको मन खोलेर प्रशंसा गरेका छन् । ट्रम्पको भ्रमणले दुई देशको मित्रतालाई चुलीमा र्पुयाएको बताए ।
ट्रम्पले पनि मोदीको प्रशंसामा कुनै कञ्जुस्याइँ गरेनन् । ‘कुनै दिन मोदी यही शहरमा चिया बेच्थे । आज प्रधानमन्त्री तथा सफल नेता बनेका छन’, ट्रम्पले भने, ‘मोदी आज मलाई जुन आतिथ्यता दर्शाए । त्यो म कहिल्यै भुल्ने छैन ।’ इन्डो–प्यासिफिक मात्रै होइन, विश्वकै प्रगतिमा योगदान गर्नसक्छौं ट्रम्पले भनेका छन् ।
मोदीले दुई देशको सहकार्यले सिंगो विश्वलाई लाभ पुग्ने बताए । ‘२१ औं शताब्दीमा नयाँ–नयाँ किसिमका प्रतिस्पर्धा देखिएको छ । नयाँ–नयाँ धारहरू देखिएका छन् । अवसर र चुनौती देखिएका छन्’, मोदीले भने, ‘२१ औं शताब्दीको विश्वलाई नयाँ दिशा दिन अमेरिका र भारतको सहकार्यले ठूलो भूमिका खेल्छ ।’ उनले अमेरिका र भारत तटस्थ सहयात्री भएको पनि बताए । ‘अमेरिका भारतको सबैभन्दा ठूलो ट्रेड–पार्टनर हो’, उनले भने, ‘हाम्रो सहकार्यले इन्डो–प्यासिफिक क्षेत्रको मात्र होइन।सारा संसारको शान्ति सुरक्षा र प्रगति योगदान गर्नसक्छ ।’ २०२० को सुरूमै ट्रम्प भारत आउनु अर्थपूर्ण भएको मोदीको दावी थियो । ‘अमेरिका भारतको ठूलो ट्रेड–पार्टनर त हुँदै हो । हामीले कसैसँग सर्वा्धिक सैन्य–अभ्यास गरिरहेका छौं भने त्यो अमेरिका नै हो । अनुसन्धानमा कसैसँग सर्वा्धिक साझेदारी गरेका छौं भने त्यो पनि अमेरिका नै हो’, मोदीले भने ।