दिल्लीमा हिंसा, मारिनेको संख्या २० पुग्यो

फागुन १४, २०७६

भारतको राजधानी दिल्लीमा हिंसात्मक झुण्डहरूले मुस्लिमहरूको घर र पसलहरूमा आक्रमण गरेका विवरणहरूमाझ लगातर तेस्रो रात दङ्गा भएको बताइएको छ ।

राजधानी दिल्लीमा दशकौं पछि देखिएको घातक हिंसाको घटनामा हालसम्म बीसजनाको ज्यान गैसकेको छ । सरकारले ल्याएको नारिकतासँग सम्बन्धित नयाँ विवादास्पद कानुनको समर्थन र विरोध गर्नेहरूबीच गत आइतवार पहिलोपल्ट भिडन्त भएको थियो ।

तर त्यसयता हिंसाले साम्प्रदायिक स्वरूप लिएको जस्तो देखिएको छ, मानिसहरूलाई तिनीहरूको धार्मिक आस्थाका आधारमा निशाना बनाइएको भन्ने विवरणहरू आएका छन् ।

सामाजिक सञ्जालमा प्रस्तुत भैरहेका फोटो, भिडिओ र अन्य विवरणहरूले दिल्ली शहरले बेहोरिरहेको चरम अवस्थाको चित्रण गरेका छन् ।

अदालतको आदेश

जथाभावी आगजनी, काठ र फलामको लौरो अनि ढुंगा बोकेका मानिसहरूको समूह सडकहरूमा ओहोरदोहोर गरिरहेका र हिन्दू तथा मुस्लिम समुदायका मानिसहरू मुठभेडको अवस्थामा रहेका भन्ने विवरणहरू आएका छन् ।

मारिनेहरूमा हिन्दू र मुस्लिम दुवै समुदायका मानिसहरू छन् ।१८९ जनाजति घाइते रहेका दिल्लीस्थित गुरु तेगबहादुर अस्पतालका अधिकारीहरूले बताएका छन्, जहाँ धेरैजसो घाइते उपचाररत छन् ।

विरलै हुने एक घटनामा दिल्लीस्थित उच्च अदालतले मध्यरातमा सुनुवाइ गर्दै, हिंसामा घाइते भएकाहरूलाई सुरक्षित रूपमा नजिकका अस्पतालहरू पुर्‍याउने वातावरण बनाउन सरकार र प्रहरीलाई निर्देशन दिएको छ ।

गुरु तेगबहादुर अस्पतालका प्रबन्ध निर्देशक सुनीलकुमार गौतमलाई उद्धृत गर्दै एएनआइ समाचार एजेन्सीले जनाएअनुसार अस्पतालमा उपचारकालागि ल्याइएकाहरू मध्ये केहीलाई गोली लागेको छ भने केहीको टाउकोमा चोट लागेको छ ।

केहीको शरिरमा चक्कुको घाउ छर केहीलाई हिंसाबाट भाग्ने क्रममा लडेर चोट लागेको हुनसक्ने बताइएको छ ।

तीन दिनदेखि राजधानी दिल्लीको उत्तरपूर्वी क्षेत्रमा हिंसा जारी रहेको अवस्थामा भारतको राष्ट्रिय सुरक्षा सल्लाहकार अजित डोभालले गएरात जफ्रावाद, सीलमपुर लगायत केही हिंसाग्रस्त इलाकाको भ्रमण गरेका र स्थानीय समुदायका नेताहरूसँग कुराकानी गरेका पनि एएनआइले जनाएको छ ।

त्यहाँको जानकारी उनले प्रधानमन्त्री नरेन्द्र मोदी र मन्त्रिमण्डललाई गराउने बताइएको छ ।

कानुनहीनता

उनले देशको राजधानीमा कानुनहीनताको अवस्था जारी रहन दिन नसकिने र प्रहरी तथा प्यारामिलिटरी सैन्य पर्याप्त संख्यामा परिचालन गरिएको बताएका एएनआइले ट्वीटर मार्फत जनाएको छ ।

मंगलवार नै दिल्लीका मुख्यमन्त्री अरविंद केजरीवालले हिंसात्मक घटनामा घाइतेहरू उपचाररत अस्पतालहरूको भ्रमण गरेका थिए । त्यसपछि उनले ट्वीटरमा लेखेको संदेशमा जारी हिंसालाई ‘पागलपन’ भन्दै यो तत्काल अन्त्य हुनुपर्ने बताएका छन् ।

मंगलबार नै भारतका गृहमन्त्री अमित शाहले जारी हिंसाका सम्बन्धमा दिल्लीका लेफ्टिनेन्ट गभर्नर, मुख्यमन्त्री र अन्य वरिष्ठ अधिकारीहरू र राजनीतिक दलका नेताहरूसँग भेट गरेका थिए ।

उनले दिल्ली प्रहरीलाई सम्बोधन गर्दै तिनीहरूले स्थानीय शान्ति समितिहरूसँग मिलेर जनतासँग सम्वाद प्रकृया सुरु गर्न र विश्वासको वातावरण बनाउन बताएका बीबीसी हिन्दीले उल्लेख गरेको छ । (बीबीसीबाट)

धेरै पढिएको

ताजा समाचार