
अमेरिकाको न्युजर्सीमा मंगलबार बन्दुकधारीहरू र प्रहरीबीच चार घण्टासम्म गोली हानाहान भयो ।यस क्रममा एक प्रहरी अधिकारी र दुई संदिग्ध मानिससहित ६ जनाको मृत्यु भयो । दुई प्रहरी अधिकारीसहित तीन जना घाइते भएका छन् । अमेरिकामा गोली चल्नु सामान्य घटना मानिन्छ । सन् २०१७ मा करिब ४० हजार मानिस गोली लागेर मरेका थिए ।
प्रहरीका अनुसार जर्सी सहरमा दुई छुट्टाछुट्टी स्थानमा गोली चलेको थियो । सर्वप्रथम चिहानमा गोली चल्यो । प्रहरीले कारबाट भाग्दै गरेका आक्रमणकारीहरूलाई रोक्ने प्रयास गर्यो । उनीहरूले गुप्तचर जोसफ सिल्सलाई गोली हाने । उपचार गर्दागर्दै उनको मृत्यु भयो । यसपछि आक्रमणकारी एक सुपरमार्केटमा पसे । हतियारसहितको आपतकालीन सेवा एकाइलाई त्यहाँ पठाइयो । प्रहरी र आक्रमणकारीबीच करिब चार घण्टा मुठभेड भयो ।
प्रहरी अपरेसनपछि सुपरमार्केटमा पाँच वटा शव भेटिए । यीमध्ये दुई आक्रमणकारी हुन् । घटनामा अन्य दुई प्रहरी पनि घाइते भएका छन् । उनीहरूलाई अस्पतालमा भर्ना गरिएको छ । प्रहरी अधिकारीहरूका अनुसार यो आतंककारी आक्रमण नभए पनि घटनाको जाँच हुँदै छ । घटनास्थल नजिकै यहुदी प्रार्थनास्थल र स्कुल पनि छ ।
दैनिक भास्करका अनुसार घटनापछि जर्सी सहरबाट दक्षिणतर्फका स्कुलहरूमा छुट्टी गरिएको छ । डिस्ट्रिक्ट स्कुलले ट्वीट गरेको छ, ‘सबै विद्यार्थी र कर्मचारी सुरक्षित छन् ।’ त्यससको एक घण्टापछि अर्को ट्वीटमा भनियो, ‘जबसम्म हामीलाई प्रहरीका तर्फबाट सहमति दिइन्न तबसम्म विद्यार्थीलाई बाहिर जान दिइन्न ।’