
भूतपूर्व गोर्खाहरू समान पेन्सनलगायत माग राख्दै बेलायती प्रधानमन्त्री कार्यालय अगाडि आमरण अनसन बसेको आज दश दिन बितिसकेको छ । यत्तिका दिनसम्म पनि बेलायत सरकारले कुनै पहल नगरे पनि आमरण अनसनप्रति ब्रिटिस भेट्रान तथा आम नागरिक सबै एकजुट भएका छन् ।
ब्रिटिस अभिनेत्री तथा अभियानकर्ता जोआना लुम्लेले समेत भूपू गोर्खाको आमरण अनसनसम्बन्धी मुद्दाको बारेमा आवाज उठाएकी छन् । भोक हडतालमा बसेका अनसनकारीहरूलाई भेटेर उनीहरूको मागलाई सम्बोधन गर्न सरकारलाई आग्रह गरेकी छन्। यसै गरी भूतपूर्व गोर्खा एवम् सफल आरोही निर्मल पुर्जा मगर ‘निम्स’ ले पनि एक भिडियो सन्देशमार्फत आफ्नो धारणा व्यक्त गरेका छन् ।
उनीहरूको समर्थनमा शनिबार र आइतबार आमरणस्थल प्रधानमन्त्रीको कार्यालय आसपासमा ब्रिटिस भेट्रान्सहरुलगायतले गोर्खा आन्दोलनमा ऐक्यबद्धता जनाउँदै विशाल प्रदर्शन गरे ।
शनिबार भएको प्रदर्शनीमा सेन्ट्रल लण्डनको ट्राफलगर स्क्वायर देखि मार्चपास गर्दै भेट्रान्सहरु बेलायती प्रधानमन्त्री कार्यालय हुँदै संसद् भवनसम्म पुगेका थिए । सो क्रममा गोर्खाहरूले एकै साथ ताली बजाएर धन्यवाद दिए । यसै गरी नेपाली संस्कृति र परम्परा झल्किने बाजागाजा तथा लाखे नाँचको समेत प्रदर्शन गरिएको थियो ।