प्रधानमन्त्री ओली ‘खतरामुक्त’, भन्छन्–‘छिटो डिस्चार्ज गर्नुपर्‍यो’


काठमाडौं, मंसिर १३ । प्रधानमन्त्री केपी शर्मा ओलीको स्वास्थ्यमा उल्लेखनीय सुधारको क्रम जारी रहेको छ ।

उनको ‘फिजिकल’ तथा ‘बायोकेमिकल’ मापदन्डसमेत अपेक्षाकृत सुधार आएको उपचारमा संलग्न चिकित्सकले जनाएका छन् ।

‘प्रधानमन्त्री ओलीलाई मुखबाट आवश्यक ठोस खाना दिन थालिएको छ, पाचन राम्रो देखिएको छ’–उनका निजी चिकित्सक डा. दिव्यासिंह शाहले भनिन् ।

प्रधानमन्त्री ओलीको स्वास्थ्यमा समस्या आएपछि यही मंसिर १० गते ‘एपेन्डिसाइटिस’को शल्यक्रिया गरिएको थियो ।

महाराजगन्जस्थित मनमोहन कार्डियोथोरासिक भास्कुलर एन्ड ट्रान्सप्लान्ट सेन्टरमा उपचाररत् प्रधानमन्त्री ओलीको स्वास्थ्य स्थितिबारे उनको उपचारमा संलग्न चिकित्सकद्वारा संयुक्तरूपमा शुक्रबार आयोजित पत्रकार सम्मेलनमा निजी चिकित्सक डा. शाहले सो जानकारी दिँदै बायोकेमिकलअन्तर्गत् श्वास–प्रश्वास, रगत, पिसाब, रक्तचापलगायत अवस्था ठीक रहेको बताइन् ।

‘प्रधानमन्त्री ओली खतरामुक्त हुनुहुन्छ । तर, सघन उपचारकक्षमा रहनुभएको छ । विस्तारै हिँडडुल गर्न थाल्नुभएको छ । मिर्गाैलालगायत समग्र स्वास्थ्यमा सुधार आएको छ’–उनले सन्चारकर्मीलाई भनिन्–‘घाउको संक्रमण नहोस् भन्नाका लागिमात्र सघन उपचारकक्षमा प्रधानमन्त्रीलाई राखिएको हो ।’

‘प्रधानमन्त्री ओलीको आत्मविश्वास तह (कन्फिडेन्स लेबल) उच्च रहेको छ, उहाँ आत्तिनुभएको छैन । मलाई छिटो डिस्चार्ज गर्नुपर्‍यो भनिरहनुभएको छ । उहाँजस्तो आत्मविश्वासी मैले कसैलाई देखेको छैन’–उपचारमा संलग्न प्रा. डा. अरुण सायमीले भने । प्रा. डा. सायमी वरिष्ठ मुटुरोग विशेषज्ञ हुन् ।

‘प्रधानमन्त्री ओलीको शल्यक्रिया गरिएको एपेन्डिसाइटिसको घाउ विस्तारै निको हुँदै गएको छ । घाउले शरीरको अन्यत्र भागमा संक्रमण गरेको छैन । अरु बिरामीभन्दा मिर्गाैला प्रत्यारोपण गरेका बिरामीको घाउ निको हुन समय लाग्छ । यहीक्रममा सुधार भएमा अर्काे हप्ता प्रधानमन्त्रीलाई डिस्चार्ज गर्न सकिन्छ’–उपचारमा संलग्न प्रा. डा. रमेशसिंह भण्डारीले भने । प्रा. डा. भण्डारी कलेजो प्रत्यारोपणका विज्ञ हुन् ।

‘जति चाँडो घाउ निको हुन्छ, त्यति नै प्रधानमन्त्री पूर्ववत् काममा फर्किन सक्नुहुन्छ । घाउ छिटो निको बनाउन हाम्रो प्रयास जारी रहेको छ’–उनले भने ।

अहिले चिकित्सकहरुले प्रधानमन्त्रीको समग्र स्वास्थ्यलाई विशेष निगरानी गर्दै उपचार गरिरहेका छन् ।

‘शल्यक्रिया गरिएको घाउबाट संक्रमण हुन नदिन र मिर्गाैलाको कामलाई निगरानी गरिरहेका छौं’–डा. शाहले भनिन् ।

चिकित्सकका अनुसार प्रत्यारोपण गरिएको मिर्गाैलबाट रक्तस्राव हुन नदिन ‘डायलाइसिस’ गर्ने गरिन्छ ।

‘प्रधानमन्त्रीको मिर्गौलाको पुनः प्रत्यारोपणको कुरा आइरहेको छ नि ?’ भन्ने सन्चारकर्मीको जिज्ञासामा निजी चिकित्सक डा. शाहले भनिन्–‘कुन समयमा कहाँ प्रत्यरोपण गर्ने अथवा डायइलिस जारी राख्ने भन्नेबारेमा उचित समयमा उचित निर्णय लिन्छौं ।’

सेन्टरका कार्यकारी निर्देशक प्रा. डा. उत्तमकृष्ण श्रेष्ठले प्रधानमन्त्री ओलीको स्वास्थ्य उपचारमा सेन्टरले आवश्यक सबै काम गरेको जानकारी दिए । रासस

धेरै पढिएको

ताजा समाचार